नेपालअखबार, काठमाडौँ । एक वर्षको अवधिमा बजारमा जिराको मूल्य तेब्बरले बढेको छ । गत वर्ष प्रतिकेजी ४५० रुपियाँ रहेको जिराको मूल्य एक वर्षको अवधिमा आठ सय रुपियाँले बढेर हाल बजारमा एक हजार २५० रुपियाँदेखि एक हजार चार सय रुपियाँको हाराहारीमा पुगेको छ ।
Advertisement
जिरा आन्तरिक उत्पादन नभई बाहिरी मुलुकबाट आयात हुने गर्छ । भारतमा जिराको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । पाँचरछ महिनादेखि लगातार जिराको मूल्य बढ्दा त्यसको प्रभाव आमउपभोक्तालाई पर्न गएको छ । थोक बिक्रेता सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भारतमै जिराको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य बढ्न गएको बताए ।
Advertisement
Advertisement
“भारत वा विश्वबजारमा जिराको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा पर्ने नै हो किनभने हामीकहाँ यसको खेती छैन,” उनले भने, “नेपालमा उपभोग हुने जिराको कुल परिमाणमध्ये झन्डै ९० प्रतिशत भारत र आठ प्रतिशत टर्कीबाट आयात हुन्छ, बाँकी दुई प्रतिशत कतार र बेल्जियमबाट आयात हुन्छ ।”
Advertisement
जिरामा नेपाल भारतमाथि निर्भर भएकाले भारतमा जिराको मूल्य उतारचढाव हुँदा त्यसको प्रत्यक्ष असर नेपालीको भान्छामा पर्ने उनको भनाइ छ ।
स्वादका लागि मसलाका रूपमा प्रयोग गरिने जिराको मूल्य बढ्दा उपभोक्ताको भान्छा महँगो हुँदै गएको छ । अन्य समयको तुलनामा चाडपर्वका बेला खपत पनि धेरै हुने गर्दछ । भारतमा उत्पादन कम हुँदा मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ ।
हाल बजार माग धान्न चीनबाट समेत जिरा आउन थालेको व्यवसायीको भनाइ छ । टर्की र इरानबाट समेत जिरा आउने गरेको छ । जिरा उत्पादनमा भारत पहिलो मुलुक हो, विश्वबजारमा जिराको मूल्य अत्यधिक बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको छ ।