Tuesday, May 12

भिजिट भिसामा मानव तस्करी, भिसासहित सबै कागजपत्र नक्कली

नेपालअखबार, काठमाडौँ । नक्कली कागजपत्र प्रयोग गरी ‘भिजिट भिसा’ मा खाडीलगायतका द्वन्द्वग्रस्त मुलुकमा पुर्‍याएर नेपाली नागरिकलाई अलपत्र परेका घटना बढेपछि प्रहरीले मानव तस्करीविरुद्ध विशेष अप्रेसन सुरु गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा विदेश जाने नेपालीले प्रयोग गरेका कागजपत्र अनुसन्धान गर्ने क्रममा फर्जी कागजपत्र बनाउने काठमाडौँका छ वटा ट्राभल्स एजेन्सीका सञ्चालकलाई नियन्त्रणमा लिएको हो ।

नक्कली कागजपत्रमार्फत भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा प्रहरीले नेपाल वायु सेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललाई पनि पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीको नेतृत्वको प्रहरी टोलीले यस प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म २१ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । भिजिट भिसामा प्रयोग भएका कागपत्र तथा भिसासमेत नक्कली रहेको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले शङ्कास्पद कागजपत्र र पासपोर्ट बरामद गरी अनुसन्धानका लागि अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेपछि  प्रहरी नायब उपरीक्षक पन्थी नेतृत्वको प्रहरी टोलीले विशेष अप्रेसनसहित अनुसन्धान अगाडि बढाएको हो ।

Advertisement

पन्थीका अनुसार विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त भएका झन्डै एक हजार दुई सय थान पासपोर्टबाहकका अधिकांश कागजपत्र नक्कली रहेको पाइएको छ । यस प्रकरणमा अध्यागमन विभागका कर्मचारीको समेत मिलेमतो देखिएपछि प्रहरीले त्यसबारे समेत अनुसन्धान अगाडि बढाउने तयारी गरेको छ ।  यो समाचार गोरखापत्र दैनिकमा छ ।