Tuesday, July 28

७८ लाख अमेरिकी डलरमा बिक्री भयो मेस्सीको जर्सी

नेपालअखबार, काठमाडौँ । कतार विश्वकपका क्रममा अर्जेन्टिना स्टार लियोनल मेस्सीले लगाएको जर्सी निकै ठुलो रकममा बिक्री भएको छ । सन् २०२२ मा सम्पन्न विश्वकपका क्रममा ३६ वर्षीय मेस्सीले लगाएको ६ वटा जर्सीको सेट कुल ७८ लाख अमेरिकी डलर (करिब एक अर्ब तीन करोड ४८ लाख २६ हजार नेपाली रुपैयाँ) मा बिक्री भएको हो ।

Advertisement

मेस्सीले उक्त विश्वकपमा लगाएको जर्सी अमेरिकाको न्यु योर्कमा लिलामीमा राखिएको थियो । मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकपको उपाधि चुमेको थियो । अर्जेन्टिनाले उक्त विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

Advertisement
Advertisement

मेस्सीले उक्त विश्वकपको समूहगत चरणको खेलमा लगाएको दुईसहित प्रिक्वार्टरफाइनल, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलमा लगाएको जर्सी लिलामीमा राखिएको थियो । कुनै पनि फुटबल खेलाडीले खेलका क्रममा लगाएको जर्सी लिलामीबाट प्राप्त भएको यो इतिहासकै दोस्रो ठुलो सर्वाधिक रकम पनि हो ।

Advertisement

यसअघि अर्जेन्टिनाकै सर्वकालीन महान फुटबलर डिएगो म्याराडोनाले लगाएको जर्सी सन् २०२२ मा ७१ लाख पाउन्ड (करिब एक अर्ब २० करोड २५ लाख २७ हजार नेपाली रुपैयाँ) मा लिलामी भएको थियो । म्याराडोनाले एक खेलका क्रममा हातले गोल गरेका थिए । उनको त्यो गोललाई रेफ्रीले समेत ठम्याउन सकेका थिएनन् ।

त्यसपछि म्याराडोनाले त्यो गोललाई भगवानको हातबाट भएको गोल (ह्यान्ड अफ गड) भनेर सम्बोधन गरेका थिए । म्याराडोनाको त्यो गोल अहिले पनि विश्वभर ‘ह्यान्ड अफ गड’ का नामले चर्चित छ । त्यही खेलमा म्याराडोनाले लगाएको जर्सी सन् २०२२ मा लिलामी गरिएको थियो ।

कीर्तिमानी रूपमा आठ पटक बालन डी’ओरको उपाधि जितिसकेका मेस्सी हाल अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेल्छन् । मेसी विश्वकप फुटबलको एउटै संस्करणमा समूहगत चरण, प्रिक्वार्टरफाइनल, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलमा गोल गर्ने एकमात्र खेलाडी पनि हुन् ।

उनले कतार विश्वकपमा सातवटा खेले खेलेका थिए । तर, समूहगत चरणमा उनले दुईवटा खेलमा एउटै जर्सी प्रयोग गरेका थिए । त्यसैले ६ वटा जर्सीमात्र लिलामीमा राखिएको हो । जर्सी लिलामीबाट प्राप्त रकमको एक भाग दुर्लभ रोगबाट पीडित बालबालिकाको सहयोगका लागि दान गरिने छ ।

जर्सी लिलामीमा सहभागी भएको सोथेबीका अनुसार, लिलामीबाट प्राप्त आम्दानीको एक भाग लियो मेस्सी फाउन्डेसनको सहयोगमा सेन्ट जोन डे डेउ बार्सिलोना बाल अस्पतालको नेतृत्वमा युनिकास  परियोजनालाई दान गरिने छ ।