Friday, July 10

पोखराको काहूँमा तीन दिने अन्तर्राष्ट्रिय योग महोत्सव सम्पन्न

नेपालअखबार, पोखरा । जर्मनीबाट आएकी तारा उब्बेनाले आफ्ना प्रेमीका साथ तीन दिनसम्म योगाका सम्पूर्ण सेशन पूरा गरिन् । नेपाली बाबु र जर्मन आमाका सन्तान उनी पोखरामा जर्मन प्रेमीका साथ रमिइरहेकी छन् । यही बेला यहाँको रमणीय डाँडा काहूँमा पोखरामै पहिलोपटक ‘स्पीरिट नेपाल ईन्टरनेशनल योगा फेस्टिवल’ आयोजना भयो । उनले यसबारे थाहा पाइन् र प्रेमीसहित सहभागी भइन् ।

Advertisement

जेन योग प्रशिक्षक हुन् । भारतीय नागरिक उनी काठमाण्डौमा ४ वर्षदेखि प्रशिक्षण दिँदै आएकी छन् । योगा फेस्टिवलमा उनी पनि मेन्टर्सका सूचीमा समावेश भइन् र पोखरा आइन् । अन्य ठाउँ भन्दा पोखरा उनलाई विशेष लाग्छ । आँखै अगाडि हिमाल, सफा र सुन्दर शहरले मन पुलक्कित बनाउँछ । सबेरै पहिलो सेशनमा उनले दुई दिन ‘विन्याश योगा’ गराइन् ।

Advertisement
Advertisement

काहूँ डाँडाबाट पारी क्षितिजमा अन्नपूर्ण हिमश्रृंखला मनमोहक देखिन्छ । हिमाललाई ऐना झैं अगाडि राखेर योग आसन र प्रणायामका विविध तरिकाहरु गरिरहँदा तारा र जेन जस्ता दर्जनौं विदेशीहरु प्रफूल्ल मुद्रामा भेटिए । १० भन्दा बढी देशका ३ दर्जनले योगा फेस्टिवलमा उत्साहजनक तबरले सहभागिता जनाए ।

Advertisement

सबैलाई मन्दिर अघि मण्डप बनाएर हवन, शिव, कृष्ण, रामको भजनकीर्तन गराउने सेशनमा विदेशीहरु निकै खुशीका साथ सहभागी भए । भोकै बसेर भगवानका नाममा हवन गर्नेदेखि भजनकीर्तनमा नाचगानमा उनीहरु औधि रमाए ।

योग कनेक्शनको आयोजनामा भएको महोत्सवको इभेन्ट म्यानेजमेन्ट प्रचार र स्पेक्स फोर्टिनले गरेको हो । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद् र पोखरा वडा नं. ११ को सहयोगमा भएको महोत्सव निकै सफल भएको आयोजक योग कनेक्शनका राघबले बताए ।

कार्यक्रम समापन अवसरमा पोखरा वडा नं. ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्य, पोखरा वडा नं. १३ का अध्यक्ष किरण बराल लगायतले विदेशीलाई पाहुनालाई जमघट गराएको यो महोत्सव अत्यन्त प्रशंसायोग्य रहेको बताउँदै शारीरिक र मानसिक स्वास्थ्यका लागि हितकारी योगको प्रचारप्रसारमा सहयोग गर्न पनि आगामी दिनमा आफूहरुको साथ रहने विश्वास दिलाए ।

स्पेक्स फोर्टिनका महेश्वरसिंह भण्डारीका अनुसार काहूँमा तीन दिनसम्म होम स्टेमा राखेर आवासीय सुविधासहित कार्यक्रम आयोजना गरिएकाले पर्यटन प्रवद्र्धनमा पनि आफूहरु मार्फत् टेवा पुगेको जनाए । उनले विदेशीले आयोजना गरेको यस इभेन्टको व्यवस्थापन गरेकाले यस्ता कार्यक्रमलाई सहयोग गर्नु सबैको दायित्व रहेको बताए ।

फेस्टिवलमा योगा आसन (हठ, विन्यास, क्रिया), प्राणायम र मेडिटेसन, हवन, साउण्ड बाथ एक्सटेटिक डान्स, कीर्तन सिङ्गिङ सर्कल, काकाओ सेरेमोनी, इनर चाइल्ड हिलिङ, योग निद्रा, लाइभ म्युजिक, ह्युमन मण्डला वर्कशव, नादा योगा, फायर शोलगायतका कार्यक्रम रहेको प्रचारका आशिष पुरीले बताए ।

फेस्टिवलमा प्रख्यात योगा मेन्टरर्स जेन (विन्यास योगा) सहित योगी प्रितु (क्रिया योगा), यानित्जा देरु (योगा निद्रा तथा साउण्ड हिलिङ), सिद (शमानिक साउण्ड हिलिङ), राघव (साउण्ड हिलिङ, कीर्तन), काते (नादा योगा एण्ड मन्त्र एक्सपिरियन्स), गौरव (नुर्टुरिङ रुट्स, इनर चाइल्ड हिलिङ), डिजे कान (एक्स्टेटिक डान्स मेडिटेसन, डीजे दीप (एक्स्टेटिक डान्स) आदि सेशन थियो ।