Saturday, July 18

अपहरण गरेर सात लाख फिरौती माग्ने २ जना पक्राउ

नेपालअखबार, त्रिशूली । नुवाकोटको ककनी गाउँपालिका–४ का सूर्यबहादुर तामाङलाई अपहरण गरेर रु सात लाख फिरौती लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्नेमा जिल्लाको ककनी गाउँपालिका–४ का राजकुमार तामाङ र शिवपुरी गाउँपालिका–८ का चन्द्रबहादुर तामाङ रहेका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काकाअनुसार गत सोमबार राति बिरामी लिन आफ्नो घर काहुलेबाट ककनी जाने क्रममा सूर्यबहादुरलाई नियन्त्रणमा लिएर रु सात लाख फिरौती लिन आएका दुई जना पक्राउ परेका र सो घटनामा संलग्न अन्य फरार भएकाले उनीहरुको खोजी भइरहेको छ ।

Advertisement
Advertisement

“सूर्यबहादुरलाई अपहरण गरेर जिल्लाको पञ्चकन्या गाउँपालिका–५ मा पुर्याएर आफन्तसँग फिरौती माग्ने क्रममा रु सात लाख दिन सहमति भएपछि पीडित परिवारबाट त्यसको सूचना प्राप्त गरेका हौँ” उनले भने, “फिरौती बुझ्न आउने क्रममा ककनीका राजकुमार र शिवपुरीका चन्द्रबहादुरलाई नियन्त्रणमा लिएका छौँ ।”

Advertisement

उनीहरुलाई प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको म्याद लिएको जनाएको छ । घटनामा संलग्न हुनेहरूको सङ्ख्या धेरै भएकाले अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

रासस