Thursday, July 30

दोस्रो गणतन्त्र आन्दोलन जनमत पार्टीले गर्‍यो घोषणा

नेपालअखबार, काठमाडौं । विद्यमान गणतन्त्रले देशको समस्या समाधान नभएको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीले दोस्रो गणतन्त्रका लागि जनआन्दोलन गर्ने घोषणा गरेको छ ।

Advertisement

जनमतले राजनीतिक दल र नेताहरूको स्वेच्छाचारी र तानाशाही प्रवृत्ति, भ्रष्टाचार र अर्कमण्यताले देश असफल बन्ने ठाउँमा पुगेको भन्दै आन्दोलन आह्वान गरेको छ । शीर्ष नेताहरूको संलगन्नतामा बालुवाटार काण्ड, भूटानी शरणार्थी शिविर काण्ड, यति काण्ड, ओम्नी काण्ड, सुन तस्करी जस्ता भ्रष्टाचार काण्डहरू निरन्तर हुदै आए पनि छानबिन र कारवाही नभएको उल्लेख छ ।

Advertisement
Advertisement

‘सरकार आफ्नो पार्टी र कार्यकर्तालाई पोस्ने थलो मात्रै बनेको छ । जहिले पनि कुर्सीको लडाइ छ’, जनमतले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘देशको अलिकति पनि चिन्ता सरकार चलाउनेलाई छैन । शिक्षा र स्वास्थ्य क्षेत्र धराशायी भएको अवस्था छ । चलिरहेको उद्योगधन्धाहरू पनि सरकारले बन्द गर्दैछन् भने आर्थिक लगानीलाई भगाउँदै छन् ।’

Advertisement

जनमत पार्टीले आठ लाखभन्दा बढी युवाहरू बर्षेनी विदेशिन बाध्य भए पनि रोजगारी दिनुको सट्टा वैदेशिक रोजगारमा जान पाऊँ भन्दा पनि सरकारले गोली चलाएर युवाहरूको हत्या गरेको आरोप लगाएको छ ।

चारैतिर निषेधित क्षेत्र घोषणा गरेर, अभिव्यक्ति स्वतन्त्रता हरण गरेर लोकतन्त्रको हत्या गर्ने काम सरकारले गरिरहेको जनमत पार्टीको आरोप छ ।

तरकारी र खाद्यान्नमा समेत भ्याट लगाएर सरकारले जनताबाट चर्को कर तथा राजस्व उठाइरहेको, तर भ्रष्टाचारको कारणले प्रहरी र कर्मचारीलाई तलब समेत खुवाउन असमर्थ रहेको जनमतको भनाइ छ ।

‘देशको अर्थतन्त्र धराशायी छ । अब देशको विकासको लागि जनता नउठे यो देशको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको छ’, जनमतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।