Wednesday, July 29

पोखरामा होहल्ला मच्चाई ध्यनी प्रदुषण गर्ने ६ सय ८१ मोटर साइकल कार्वाहीमा

नेपालअखबार, पोखरा । वास्तविक स्वरुप फेरेर चर्को आवाज निकाल्दै ध्वनी प्रदुषण गर्ने ६ सय ८१ वटा मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कास्कीले भदौ ५ गतेदेखि स्वरुप फेर्ने र ध्वनी प्रदुषण गर्ने मोटरसाइकल नियन्त्रण गर्न सुरु गरेको थियो ।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकार प्रहरी निरीक्षक सूर्य रानाका अनुसार हालसम्म ६ सय ८१ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

Advertisement

नियन्त्रणमा लिइएको मोटरसाइकलबाट ७ लाख ४२ हजार रुपैयाँ राजश्व संकलन गरिएको उनले जानकारी दिए ।

स्वरूप परिवर्तन गरेर होहल्ला मच्चाउँदै हिँड्ने, ध्वनी प्रदुषण गर्ने, साइलेन्सर पाइपबाट आगोसमेत निकाल्ने मोटरसाइकलहरू नियन्त्रणमा लिइएको हो ।

फागुन १७ देखि २० गतेसम्ममात्रै ५९ वटा मोटरसाइकल नियन्त्रण गरिएको प्रहरीले जनाएको छ ।

‘स्वरूप परिवर्तन गरिएका मो.सा.हरू मध्ये पटके कारबाहीमा परेकाहरूलाई आवश्यक कारबाहीका लागि यातायात कार्यालय कास्कीमा पठाउने भनेका छौं’, प्रहरी निरीक्षक रानाले भने, ‘पहिलो पटकमा परेकाहरूलाई मोडीफाई गरिएका सामानहरू फेर्न लगाई पहिलेकोजस्तै बनाउन लगाई ट्राफिक नियम उल्लंघनमा जरिबाना गरी अभिभावकको जिम्मा लगाई छाडिने छ ।’

प्रहरीले चर्को आवाज निकाल्नेमात्रै नभएर उक्त कार्य गर्ने गराउने वर्कसप समेतको निगरानी गर्ने, पहिचान गर्ने र उक्त वर्कसप सञ्चालकहरू समेतलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ ।