Saturday, May 23

जर्जियाको संसदमा सांसदहरूबीच मुक्का हानाहान

नेपालअखबार, एजेन्सि। जर्जियाको संसदमा सांसदहरूबीच मुक्का हानाहान भएको छ।

सोमबार सत्तारूढ दल जर्जियन ड्रिम पार्टीका नेता मामुका मडिनाराड्जेले विवादास्पद विधेयक संसदमा पेश गरिरहँदा विपक्षी दलका नेता एलेको एलिसाश्विलीले मुक्का प्रहार गरेको सिएनएनले जनाएको छ।

Advertisement

मडिनाराड्जे ‘विदेशी एजेन्ट’लाई नियमन गर्ने विधेयक रोष्ट्रममा प्रस्तुत गर्दै थिए। त्यहीबेला दौडिँदै आएका प्रतिपक्षी दलका नेता एलिसाश्विलीले उनीमाथि मुक्का प्रहार गरेका हुन्।

त्यसपछि त्यहाँ हानाहानको स्थिति बनेको भिडिओ बाहिरिएको छ।

सिएनएनका अनुसार उक्त विधेयकले विदेशबाट ‘फण्ड’ लिने संस्थाहरूले विदेशी एजेन्टको रूपमा दर्ता गराउनुपर्ने नभए जरिवाना तिर्नुपर्ने भनिएको छ।

यस विधेयकलाई जर्जियामा रूसी विधेयक भनेर आलोचना समेत गरिएको छ। पाँच हजारभन्‍दा बढी प्रदर्शनकारीले जर्जियाको संसद भवन अगाडि प्रदर्शन गरेका थिए।

मुक्का प्रहार गरेको घटनापछि बाहिर प्रदर्शन गरिरहेकाहरूले पनि समर्थन गरेका थिए।

यस विधेयकलाई पश्चिमी राष्ट्रहरूले पनि समर्थन गरेका छैनन्।

यसबारे जर्जियाका प्रधानमन्त्री इराक्ली कोबाखिड्जेले सोमबार नै इयू, बेलायत र अमेरिकी राजदूतहरूसँग यस विधेयकबारे छलफल गरेको बताएका थिए। त्यस छलफलमा पनि किन समर्थन नगरेको भन्नेबारे भने नखुलाएको सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।