Tuesday, July 7

देशमा ठुलो सुरक्षा चुनौती छैन : प्रधान सेनापति शर्मा

नेपालअखबार, काठमाडौँ ।प्रधान सेनापती प्रभुराम शर्माले देशमा ठूलो सुरक्षा चुनौति नरहेको बताएका छन्।

Advertisement

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रधान सेनापती शर्माले देशमा ठूलो सुरक्षा चुनौती नरहेको बताएका हुन्।

Advertisement
Advertisement

संवेदनशील भूराजनीतिक अवस्था, खुला सीमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतीहरू देखा परे पनि समाधान नै गर्न नसक्ने प्रकारका कुनै पनि चुनौती नरहेको उनले बताए।

Advertisement

उनले कहिलेकाहीँ धार्मिक, सांस्कृतिक तथा जातीय पहिचानको आधारमा केही घटनाहरू हुने गरे पनि ती समस्याहरूलाई स्थानीय स्तरमै राजनीतिक दलहरूले मिलाउने गरेको बताए।

‘नेपालको सन्दर्भमा संवेदनशील भूराजनीति, खुला सीमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतीहरू देखा परेका छन्,’ उनले भने, ‘यसका साथसाथै कहिलेकाहीँ धार्मिक, सांस्कृतिक एवं जातीय पहिचानको आधारमा सञ्चालन भएका सानातिना घटनाहरू र गतिविधिले गर्दाखेरी हाम्रो नेपाली जनताको एकतामा कतै खलल पुग्छ कि भन्ने परिवेशको आँकलन पनि गरेका छौँ तर अहिलेसम्म हाम्रो एकतामा कुनै असर पुगेको छैन।’

उनले मंगोल नेशनल अर्गनाइजेस र पहिचानवादीहरू बेलाबेलामा आन्दोलित हुने गरेपनि राष्ट्रिय समस्याको रूपमा नरहेको स्पष्ट पारे। दुर्गा प्रसाई नेतृत्वको समूहले पनि बेलाबेलामा गतिविधि गरेको भन्दै ती गतिविधिले सुरक्षालाई कुनै असर नपुर्‍याएको उनको भनाई छ।

त्यसैगरी राष्ट्रिय सुरक्षाका लागि छिमेकी देशहरू भारत र चीनलाई कहिल्यै चिढ्याउन नहुने पनि उनले बताए।

‘राष्ट्रिय सुरक्षाको सवाल उठ्दाखेरी हामीले दुईवटा देश आफ्नो छिमेकीहरूलाई कहिल्यै पनि चिढ्याउनु हुँदैन। र उनीहरूले नचाहिँदो कुरा गरे भने विरोध पनि गर्नुपर्छ,’ उनले भने, ‘नेपालमा युरोपियन युनियन र अमेरिकाको पनि इन्ट्रेष्ट छ। उनीहरूसँग पनि ब्यालेन्स गर्नुपर्छ। चीन, भारत, युरोपियन युनियन र अमेरिकाले जे भन्यो त्यो गर्ने होइन कि हामीले यी छिमेकीलाई चिढ्याउनु हुँदैन।’