Monday, July 6

मानहुँकोटमा मापदण्ड तोकेर घर निर्माण प्रक्रिया खुल्ला

नेपालअखबार, तनहुँ ।तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय मानहुँकोटमा घर निर्माण प्रक्रिया खुल्ला गरिएको छ।

Advertisement

पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भइरहेको मानहुँकोटमा मापदण्ड तोकेर घर निर्माण प्रक्रिया खुल्ला गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

Advertisement
Advertisement

मानहुँकोटमा स्थानीयवासीले बस्ती छाड्दै जाने र बाहिरबाट जानेहरुले जथाभावी घर निर्माण गर्न थालेपछि नगरपालिकाले घर निर्माण प्रक्रिया रोकेको थियो।

Advertisement

पर्यटकीय क्षेत्रको मौलिकता कायम गर्नका लागि यस्तो निर्णय गरिएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए।

नगरपालिकाले निकास नखुलेका घरजग्गाहरु समेत समेटी मानहुँकोट पर्यटकीय क्षेत्रको जग्गा विकास आयोजना अगाडि बढाउने निर्णय गरेको उनको भनाइ छ।

मानहुँकोटमा घर निर्माण गर्दा मौलिकता झल्कने खालका निर्माण गर्न दिने विषयमा छलफल भएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिए। यहाँ आफूखुसी संरचना बनाउन नदिन मापदण्ड तोक्ने निर्णय भएको उनले बताए।

मानहुँकोटमा खानेपानीको दुःख हुन थालेपछि यहाँबाट स्थानीय सहर झर्न थालेका थिए।

अहिले पनि यहाँ पानीको सुविधा पुगिसकेको छैन। पछिल्लो समय पर्यटकको चहलपहल बढेपछि गाउँ छाडेकाहरु पुनः फर्किन थालेका छन्। ७० घरपरिवार रहेको मानहुँकोटमा अहिले १०/१२ घर मात्रै छन्।

सूर्योदय र कुहिरो अवलोकनका लागि मानहुँकोटमा विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन्। दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको स्थानीय बताउँछन्।

मानहुँकोटबाट पाँचवटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ।

यहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ।

दमौलीबाट सात किलोमिटर दूरीमा अवस्थित यहाँ पुग्नका लागि सडक कालोपत्र भएको छ। सडक कालोपत्र भएपछि सर्वसाधारणलाई मानहुँकोट उक्लिन सहज भएको छ।

मानहुँकोट कोरोनापछि एक्कासि चर्चामा आएको हो। कोरोनाकालमा एकैदिन दश हजारभन्दा बढी पर्यटक मानहुँकोट उक्लिएका थिए। गर्मी मौसममा भन्दा जाडो मौसममा यहाँ पर्यटकको बाक्लो उपस्थिति रहने गरेको छ। रासस