Sunday, July 5

बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री

नेपालअखबार,बेदकोट। बेदकोट पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा साना छाप्रा र छन्। छाप्रामा तर्बुजा (खर्बुजा) राखेर कोही ग्राहक कुरिरहेका छन् भने कोही बिक्रीमा व्यस्त छन्।

Advertisement

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ पर्ने वनरा पुल वारिपारी तर्बुजा बेच्नेको भीड छ। महेन्द्र राजमार्ग भएर ओहोरदोहोर गर्ने यात्रुहरु यहाँ रोकिएर तर्बुजा खरीद गर्ने गर्छन्।

Advertisement
Advertisement

कृष्णपुर नगरपालिका–२ का रामकृष्ण चौधरीले गत चैतदेखि राजमार्ग छेउमा तर्बुजा बिक्री गर्न अस्थायी छाप्रो बनाएर पसल थापेका हुन्। वनरा नदीको बगरमा तर्बुजा खेती गर्ने उनी बर्सेनि राजमार्गमा छाप्रो बनाएर तर्बुजा बिक्री गर्दै आएका छन्।

Advertisement

‘बगरमा पाँच कठ्ठा र अन्यत्र दुई बिगाह जमिनमा तर्बुजा, काक्रा, फर्सी खेती गरेको छुँ । यसैबाट घरखर्च चलेको छ,’ रामकृष्णले भने, ‘दैनिक ३/४ हजारको बिक्री हुन्छ।’

उनका अनुसार चैत महिनादेखि जेठ अन्तिमसम्म राजमार्गमा पसल थापेर तर्बुजा बिक्री गर्ने गरिन्छ । हाल दैनिक १५/२० क्विन्टल तर्बुजा बिक्री भइरहेको छ । प्रतिकिलोग्राम ५० का दरले तर्बुजा बिक्री हुने गरेको छ।

‘गाडामा राखेर गाउँतिर डुलाएर पनि तरकारी बेचिन्छ । बुवाआमाले पनि खेतीमा सघाउनुभएको छ,’ उनले भने, ‘यो सिजनमा राम्रो आम्दानी हुन्छ।’

वनरा शिविरका सालिकराम राना पनि अचेल राजमार्गमा तर्बुजा बिक्री गरिरहेका भेटिन्छन्। उनले वनरा नदीको बगरमा सात कट्ठा क्षेत्रमा तर्बुजा खेती गरेका छन्।

‘आफ्नो बारीमा तर्बुजा पाकेको छैन । अरुबाट ३० रूपैयाँमा प्रतिकिलोग्राम किनेर ५० रूपैयाँमा बेच्दैछौँ,’ उनले भने, ‘केही दिनमा आफ्नै बारीको तर्बुजा तयार हुन्छ।’

वनरा पुल क्षेत्रमा तर्बुजा बेचेर जीविकोपार्जन गर्नेहरूमा अधिकांश मुक्तकमैया र आरक्ष पीडित छन्।

‘सुरुमा भारतीयहरूले बगरमा खेती गर्थे । उनीहरूबाटै हामीहरूले पनि बगरमा तरकारी खेती गर्न सिकेका हौँ,’ सालिकराम भन्छन्, ‘अहिले बगरमा भारतीय छैनन्।’

माघदेखि बगरमा तर्बुजा खेतीका लागि तयारी थालिन्छ । चैत अन्तिम साता तयार भएपछि तर्बुजा बिक्रीका लागि बजार ल्याउने गरिन्छ।

‘अन्यत्र बिक्री गर्दा राम्रो मोल पाइँदैन । ढुवानी खर्च बच्ने हुनाले हरेक वर्ष राजमार्गमै तर्बुजा बेच्छौँ,’ बासपति रानाले भनिन्, ‘अरु बेला मजदुरी गरेर घरखर्च जुटाइन्छ।’ रासस