Sunday, July 5

राजस्व छली आरोपमा काठमाडौंबाट चिनियाँ नागरिकसहित दुई जना पक्राउ

नेपालअखबार,काठमाडौँ ।राजस्व छली गरेको आरोपमा काठमाडौंबाट चिनियाँ नागरिकसहित दुई जना पक्राउ परेका छन्।

Advertisement

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौं महानगरपालिका वडा नम्बर १७ क्षेत्रपाटी र ठमेलबाट दुई जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

Advertisement
Advertisement

प्रहरीले जियाङ सु होटल एण्ड रेष्टुरेन्ट प्रालिका संचालक चिनियाँ नागरिक याओ लियाङलिन र ठमेलको होटल छेन्दु प्रालिबाट दिपेन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो। दिपेन्द्र महोत्तरी घर भई चाँगुनारायण नगरपालिका-१ बस्छन्।

Advertisement

सिआइबीको टोलीले सोमबार अवैध रूपमा चिनियाँ मुद्रा भित्र्याएर भन्सार तथा राजस्व छली गरेको भन्ने सूचना पाएको थियो।

उक्त सूचनापछि सिआइबीको टोली लियाङलिनको होटलमा पुगेको थियो। जहाँ प्रहरीले ३७ लाख ८१ हजार ३५० रुपैयाँ, १२ हजार भारतीय रुपैयाँ, दुई हजार थाई भाट, ५३० अमेरिकी डलर, ३०० युरो डलर, ३२ हजार ७० चिनियाँ युआन बरामद गरेको थियो।

त्यसपछि प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरी दिपेन्द्र रहेको होटलमा पुगेको थियो।

दिपेन्द्रबाट पनि प्रहरीले ९ लाख रुपैयाँ बरामद गरेको एसपी बोगटीले बताए।

यस घटनाको थप अनुसन्धान गर्न सिआइबीले उनीहरूलाई राजस्व अनुसन्धान विभाग हरिहर भवनमा पठाएको छ।