Sunday, July 5

महोत्तरीका किसानले पाए उखुको भुक्तानी

नेपालअखबार , महोत्तरी। महोत्तरीका उखु किसानले चिनी उद्योगबाट आफ्नो उत्पादनको सम्पूर्ण भुक्तानी पाएका छन्।

Advertisement

जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिजले उखुको भुक्तानी दिएको हो। उखुको मूल्य भने समुचित निर्धारण नभएको भन्दै किसानले गुनासो गरेका छन्।

Advertisement
Advertisement

‘यसपालि उखु मिलबाट सबै रकम पाइयो,’ भङ्गाहा–४ रामनगरका किसान अरुण गिरीले भने, ‘तर उखुको मूल्य निर्धारणमा भने हामी ठगिएका छौं।’

Advertisement

आफ्नो उत्पादनले कति मूल्य पाउने निधोबिना नै उखु तौलाएर उद्योगलाई बुझाउन परेको गिरीसहितका किसानको गुनासो छ।

उखु किसानको प्रतिनिधि संस्था उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बर्सेनि चिनीको मूल्य अनुपात र खेती लागतको मूल्यांकनलाई मूल्य निर्धारणको आधार बनाइनुपर्ने बताए।

अध्यक्ष कुशवाहका अनुसार किसानले चिनीको बिक्री मूल्य र खेतीको लागत मूल्याङ्कनका आधारमा कमसेकम रु सात सय प्रतिक्विण्टल पाउनुपर्ने माग गरेका थिए तर सरकार र उद्योगबीचको सहमतिपछि ६१० कायम भएको छ।

५४० उखुको मूल्यबापत उद्योगले दिने र ७० रूपैयाँ सरकारले अनुदानबापत दिने गरेको छ। किसानले उद्योगबाट पाउनुपर्ने सबै भुक्तानी पाए पनि अनुदानबापतको रकम पाउन बाँकी छ।

उखुको भुक्तानी सहज भएपछि पछिल्ला दुई वर्षयता जिल्लामा खेती बढ्दै गएको छ। एक दशकअघि १८ हजार बिघामा उखुखेती हुनेगरेको थियो।

उत्पादनको भुक्तानी सहजै प्राप्त हुन थालेपछि क्रमशः खेती बढ्दै गएर यसपालि १० हजार बिघा नाघेको अध्यक्ष कुशवाहले बताए।

एभरेष्ट चिनी उद्योग वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले यसपालि १२ हजार पाँच बिघामा गरिएको उखु उद्योगले खरिद गरेको जानकारी दिए।

उद्योगले महोत्तरीका अतिरिक्त सर्लाही, धनुषा र रौतहटबाट पनि उखु खरिद गर्दै आएको छ। रासस