Tuesday, July 28

नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो

नेपालअखबार,मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लामा यस वर्ष कूल एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताए। विगत चार वर्षदेखि सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रमा चैतेधान लगाउने क्रम जिल्लामा बढेको उनले बताए ।

Advertisement

“चैतेधान थन्काएपछि असारमा फेरि धान रोप्नुपर्ने भएकाले गर्मीलाई बेवास्ता गर्दै किसानहरू धान भित्रउन व्यस्त छन्”, उनले भने, “यस वर्ष छ हजार सात सय ५५ मेट्रिक टन चैतेधान उत्पादन हुने अनुमान छ ।”

Advertisement
Advertisement

दुई बाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानले चैतेधान लगाउने गरेका छन् । तुलनात्मक रूपमा यहाँ मकैभन्दा धान बढी उत्पादन हुने र दुई बाली धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने हुँदा किसानहरू यसतर्फ आकर्षित भएका प्रमुख तिवारीले बताए । विगत चार वर्षदेखि जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकामा चैतेधान खेतीको क्षेत्र छुट्याएर खेती गरिएको उनले बताए ।

Advertisement

“जिल्लाको कावासोती नगरपालिका–८ देखि १७, गैँडाकोट नगरपालिका १०, ११, १२ र १३, देवचुली नगरपालिका–१७, मध्यविन्दु नगरपालिका २ र ३,  विनयी त्रिवेणी गाउँपालिका १ र ५, बुलिङटार गाउँपालिका–३ र बौदीकाली गाउँपालिका–४ मा हिउँदे धान भित्र्याउन अहिले किसान व्यस्त भएका छन्”, उनले भने।

कृषि ज्ञान केन्द्रले चैतेधान उत्पादन हुने सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गरी किसानलाई प्रोत्साहन गर्दै आएको छ । “गत वर्ष जिल्लामा एक हजार दुई सय १० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुँदा छ हजार एक सय २३ मेट्रिक टन धान उत्पादन भएको थियो”, उनले भने, “गत वर्षभन्दा यो वर्ष एक सय १५ हेक्टर क्षेत्रफलमा खेती विस्तार भएको छ ।” बर्खे धान प्रतिहेक्टर तीन टनभन्दा बढी उत्पादन हुनेमा चैतेधान प्रतिहेक्टर चारदेखि पाँच टनसम्म उत्पादन हुने प्रमुख तिवारीले जानकारी दिए ।

“चैतेधानमा रोग तथा किरा पनि कम लाग्ने भएकाले किसानका लागि यो राम्रो मानिन्छ ”, उनले भने, “जिल्लामा विशेष गरी चैते–५ र हर्दिनाथ–१ जातको चैतेधान रोप्ने गरिन्छ ।”