Wednesday, July 29

एकसिङ्गे गैँडाको खाग खरिद बिक्रीको अभियोगमा मुद्दा दायर

नेपालअखबार, चितवन । चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खाग खरिद बिक्री गरेको अभियोगमा नौ जना विरुद्ध मुद्दा दर्ता गरेको छ । निजहरुविरुद्ध सोमबार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।

Advertisement

कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा  जनाएअनुसार मुद्दा दायर गरिएकाहरूमा भरतपुर महानगरपालिका–२८ का ४० वर्षीय सन्तबहादुर कुमाल, राप्ती नगरपालिका–३ सुन्दर बस्ती बस्ने ३३ वर्षीये बालकुमार राई, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बर्दघाट नगरपालिका–८ भानुनगर बस्ने ३५ वर्षीय देवबहादुर परियार,  रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ कालिका टोल बस्ने ३८ वर्षीय धनबहादुर बानियाँ, बुटवल–११ आनन्द पथ बस्ने ५१ वर्षीय कृष्णराज पाण्डे क्षेत्री रहेका छन् ।

Advertisement
Advertisement

बाग्लुङको जैमिनी नगरपालिका–७ बस्ने २८ वर्षीय कमल राना, सोही नगरपालिका–१० को राडखानी बस्ने ३८ वर्षीय नगेन्द्र थापा, सोही नगरपालिका–९ बस्ने ३६ वर्षीय खड्कबहादुर थापा, स्याङजाको निरकोट नगरपालिका–९ घर भई हाल बुटवल–४ बस्ने ४७ वर्षीय कुलबहादुर बुढाथोकीलाई मुद्दा दायर गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

Advertisement

उनका अनुसार गत वैशाख २८ गते भरतपुर–९ क्षेत्रमा एकसिङ्गे गैँडाको खाग खरिदबिक्री भइरहेको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा निजहरु पक्राउ परेका थिए । सो क्रममा मुद्दा दायर भएकाहरुमध्ये सन्तबहादुर कुमाललाई खानतलासी गर्दा निजका साथबाट संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको खागजस्तो वस्तु भेटिएपछि थप अनुसन्धान गर्दै जाँदा निजहरुलाई पक्राउ गरिएको उनको भनाइ छ ।

तिवारीका अनुसार प्रतिवादीहरुमध्ये सन्तबहादुर भन्ने पङ्कज कुमालले यसभन्दा पहिला पनि गैँडालाई गोली हानी घाइते बनाएको अभियोगमा आठ वर्ष कैद भएको थियो । निजले रु ५० हजार जरिवाना तिरेर छ वर्ष अघि छुटेका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (५घ) अनुसार कारबाहीको माग राखी मुद्दा दायर गरिएको हो । रासस