Monday, September 14

यंसि (इन्द्रजात्राका लागि लिङ्गो) लिन मानन्धर समुदायका अगुवा बन प्रस्थान

नेपालअखबार, काठमाडौं । इन्द्रजात्राका अवसरमा बसन्तपुर क्षेत्रमा गाडिने यसिं (इन्द्रध्वज) लिन मानन्धर समुदायका अगुवा आज बन प्रस्थान गरेका छन् । बिहान १० बजेर ४७ मिनेटको साइतमा उनीहरु हनुमानढोकाबाट गुर्जुको पल्टनसहित बन प्रस्थान गरेका हुन् । यसरी यसिं ल्याउने बन (भक्तपुरको चित्तपोल) बाट रुख ल्याउनका लागि होली पूर्णिमापछि गुंला सुरु हुनु अघि क्षमा पूजा गरेर रुख कटान गर्न स्वीकृत माग्ने चलन रहेको, केन्द्रीय मानन्धर संघका सचिव गजेन्द्र मानन्धर बताउनुहुन्छ ।

Advertisement

येँया जात्राका अवसरमा हुने सांस्कृतिक तथा सामाजिक गतिविधिमा मानन्धरहरुको विभिन्न दायित्व छन् । यी दायित्वमध्ये यसिं ल्याउने, उठाउने, दागिंका दिन बौमता निकाल्ने, यसिं पतन गराउने जस्ता क्रियाकलाप मुख्य हुन् ।

Advertisement
Advertisement

 

Advertisement

यसिं लिन उनीहरु भक्तपुरको चित्तपोल पुग्नेछन् । केन्द्रीय मानन्धर संघबाट इन्द्रजात्राका लागि संयोजकका रुपमा प्रतिनिधित्व गर्नुहुने सन्देश मानन्धर भन्नुहुन्छ, विधिवत पूजा गरिसकेपछि आजै बेलुकी ०८ बजेर २७ मिनेटको साइतमा बृक्ष कटान हुनेछ । आज कटान गरिएको यसिं (लिङ्गो) गुठीयारहरुले भोलिदेखि तानेर ल्याउने छन् । यसलाई भोटाहिटीमा ल्याएर राखिनेछ ।

संघका सचिव मानन्धरका अनुसार भोटाहिटी पुग्नु अगाडि यंसिलाई स्वागत पूजा गर्ने चलन छ । यो तंलाछि मानन्धर गुथिका गुथियारहरुले गर्नेछन् । यसिं सहर प्रवेश गराउन साइत चाहिन्छ । यस बर्ष भदौ २६ गते बिहान १० बजेर ३२ मिनेटको साइतमा यसिंलाई नगर प्रवेश गराउने साइत छ । नगर प्रवेश गराइएको यसिं बसन्तपुर कालभैरव अगाडि लगेर राखिनेछ ।

भदौ ३० गते आइतबार विहान ८ बजेर २६ मिनेटको शुभ साइतमा इन्द्रध्वज उत्थान हुन्छ । यसअघि चस्वाँद्व मानन्धर सनागःगू खलः बा गुथियारले डोरीले यसिं कस्छन् । यसका लागि यसिं उठाउँदा कसिलो हुने उठाइ सकेपछि डोरी खुल्ने गरी बाँध्ने सिप चाहिन्छ । इन्द्रध्वज उत्थान भएपछि जात्रा औपचारिक रुपमा सुरु भएको मानिनेछ ।

असोज १ गते मंगलबार कुमारी रथ यात्रा सुरु हुन्छ । यस दिन राष्ट्रप्रमुखसहित विशिष्ट पदाधिकारीहरुले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने चलन छ । यस दिन तल्लो टोलमा रथ यात्रा हुन्छ । यसै वर्ष स्वर्गवास भएका व्यक्तिहरुको चीर शान्ति र मोक्षका लागि दागिं जाने चलन छ । यस दिन मानन्धर समुदायका ६ वटा गुथि मिलेर बौमत निकाल्छन् । यो धेरै बाँस जोडिएको करिब १ सय फिट लामो हुन्छ ।

असोज २ गते बुधबार माथिल्लो टोलमा रथ यात्रा हुन्छ । असोज ५ गते शनिबार नानिचा यात्रा हुन्छ । यसै दिन राती १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिन्छन् । यसिं ढाल्ने जिम्मेवारी पनि मानन्धरहरुकै हो ।

इन्द्रजात्राका अवसरमा लाखे, आकाश भैरव, पुलुकिसी, देवीलगायत तान्त्रिक बिद्यामा आधारित नाचहरु हुनेछन् भने दश अवतारलगायत पौराणिक कथामा आधारित प्रदर्शन हुनेछन् ।