Tuesday, July 28

संविधान दिवस तथा राष्ट्रिय दिवस समारोहको तयारी

नेपालअखबार,  काठमाडौँ  । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा आयोजना हुने मूल समारोह स्थलको सरसफाइ गर्ने, बस्नका लागि ७ सय वटा कुर्सी, साउण्ड सिस्टम र पिउने पानीको व्यवस्था काठमाडौँ महानगरपालिकाले गर्ने भएको छ । आज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं मञ्च सजावट तथा व्यवस्थापन उपसमितिका संयोजक प्रदीप परियारको अध्यक्षतामा बसेको बैठकले मूल समारोह व्यवस्थापनमा छलफल गर्दै यस्तो निर्णय गरेको हो । यससँगै महानगरपालिकाले शान्तिका प्रतीक स्वरुप समारोह स्थलबाट उडाउने ७ जोडी परेवा, मञ्चको दुवैतर्फ ‘संविधान दिवस २०८१’ लेखिएका १७ मिटर लम्बाइ भएका २ थान व्यानर उपलब्ध गराउनेछ । मञ्चको सजावट गर्नेछ ।

Advertisement

यससँगै समारोह स्थलमा आकस्मिक र प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स र दकमकल तैनाथ राख्नेछ ।  समारोह स्थलमा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले सांस्कृतिक झाँकी प्रदर्शन गर्नेछन् ।  वैठकमा काठमाडौँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना, जङ्गी अड्डा, समारोह सञ्चालन निर्देशनालयका प्रमुख सेनानी महेन्द्र पुन, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक सन्तोष आचार्य, महानगरपालिकाको प्रशासन विभागका प्रमुख नमराज ढकाल, राजस्व विभागका प्रमुख दिपक अधिकारी, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे, जिन्सी शाखा प्रमुख शुशिल कुँवर, गृह मन्त्रालयको कार्यालय व्यवस्थापन तथा जिन्सी शाखा प्रमुख हेमराज जोशीसहित अधिकारी सहभागी हुनुहुन्थ्यो ।

Advertisement
Advertisement

उपसमितिको सदस्यमा ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुनुहुन्छ ।

Advertisement