Monday, July 27

पार्टी र मधेस सरकारको नेतृत्व जोगाउन जनमतलाई सकस

नेपालअखबार,काठमाडौँ । जनमत पार्टीका शीर्ष नेताहरूको अभिव्यक्ति र सामाजिक सञ्जालमा पोस्ट गरेको विचार हेर्दा सो पार्टीका साथै उसले नेतृत्व गरेको मधेस सरकार सङ्कटमा रहेको बुझ्न सकिन्छ ।

Advertisement

जनमत पार्टीले मधेस प्रदेशको सरकार नेतृत्व गरेको छ । तर पछिल्लो समय सरकारको काम कारबाहीप्रति सत्ता साझेदार दलका नेताहरूले असन्तुष्टि जनाएपछि सरकार नै सङ्कटमा परेको हो कि भन्ने चर्चा सुरु भएको छ । मधेस सरकार जनमत पार्टीले एकलौटी चलाइरहेको गुनासो सत्ता साझेदार दलका नेताहरूले गरिरहेका छन् ।

Advertisement
Advertisement

यहाँसम्म कि जनमत पार्टीले अरू दलको मन्त्रालयमा पनि हस्तक्षेप गरेको कारण त्यसको गुनासो केन्द्रसम्म आइपुगेको जनमत पार्टीकै एक नेताले बताए ।

Advertisement

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले दिएको अभिव्यक्तिलाई लिएर पनि मधेस सरकारको आयुमाथि प्रश्न खडा भएको छ ।

तर जनमत पार्टीका उपाध्यक्ष एवं मधेस प्रदेशका सांसद ई.वसन्त कुशवाहाले मधेस प्रदेश सरकार परिवर्तनको हल्ला फिँजाएर सरकार, कर्मचारी र मधेसी जनतालाई भ्रमित गर्न खोजिएको दाबी गरे ।

प्रदेश सरकारले ल्याएको ७५ भन्दा बढी गौरवका योजनाहरू कार्यान्वयन हुने समयमा मधेस विरोधीहरूले बाधा अवरोध पुर्‍याउने काम गरेको बताउँदै उनले जनमत पार्टी नेतृत्वको मधेस सरकार पूरै अवधि रहने दाबी गरे ।

बुधबार बसेको सत्तारुढ दलको बैठकमा जनमत पार्टीका अध्यक्ष राउत सहभागी भएको फोटो सार्वजनिक गर्दै उपाध्यक्ष कुशवाहाले सीके राउतको सहभागिताका साथ आज पनि सत्तारूढ दलको बैठक सम्पन्न भएकाले जनमत पार्टीको नेतृत्वमा मधेस प्रदेश सरकार जारी रहने दाबी गर्दै यसमा कुनै भ्रम नराख्न अपिल गरेका छन् ।

पछिल्लो समय जनमत पार्टीका अध्यक्ष राउतले सरकारकै विरुद्धमा दिएको अभिव्यक्तिबारे बालुवाटारमा चर्चा सुरु भएको छ । संसद् होस् वा बाहिर, अध्यक्ष राउतले केन्द्रीय सरकारलाई बेफाइदा हुने खालको अभिव्यक्ति दिँदै आएका छन् । जसले गर्दा मधेस प्रदेश सरकारको विकल्पबारे सोच्न प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा लगभग सकारात्मक देखिएको स्रोतहरूको दाबी छ ।

यता, पछिल्लो समय नेता तथा कार्यकर्ताले जनमत पार्टी छाड्न थालेपछि पार्टीका उपाध्यक्ष एवं अनुशासन विभागका प्रमुख ई.दीपक साहले पार्टी नछाड्न अपिल गरेका छन् ।

उनको अपिलमा भनिएको छ, ‘जनमत पार्टी तपाईं हाम्रो रगत पसिनाले बनाएको पार्टी हो ।’ पार्टीलाई मजबुत बनाउन नेतृत्वलाई साथ दिएर जनताको बृहत्तर हितमा काम गर्ने उल्लेख गर्दै उनले अनुशासित भई पार्टीभित्र संघर्ष गर्न पनि आग्रह गरेका छन् ।