Monday, August 17

४० रोपनी जग्गामा तरकारी खेती गरिरहेका ९० वर्षीय तारादत्त

नेपालअखबार, डडेल्धुरा। सामान्यतया ९० वर्षको उमेरमा अधिकांशलाई हिँडडुल गर्न गाह्रो हुन्छ।

Advertisement

तर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाका तारादत्त भट्ट ९० वर्षको उमेरमा पनि शारीरिक रुपमा सक्रिय छन्।

Advertisement
Advertisement

यो उमेरमा पुगिसक्दा उनले व्यावसायिक कृषि र पशुपालन गरेर वार्षिक २० लाखसम्म आम्दानी गर्दै आएका छन्।

Advertisement

‍भट्टले ४० रोपनी जग्गामा तरकारीखेती गरेका छन्। तरकारीबाटै  वार्षिक १० लाख आम्दानी लिने गरेको उनी बताउँछन्।

विगत ३० वर्षदेखि भट्टले खसीबाख्रा र भैँसीपालन पनि गर्दै आएका छन्।

हाल उनको गोठमा ५० वटा खसीबाख्रा छन्। तीन वटा उन्नत जातका भैँसी छन्। घरका भित्ताभरी माहुरीका आधुनिक तथा परम्परागत घार छन्। आँगनको कुनामा खरायोका खोर छन् । कृषि पेसामै सक्रिय भएकाले आफू निरोगी भएको उहाँ बताउँछन्।

‘सानैदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ । जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिँन,’ उनी भन्छन्, ‘ यही काम गर्दागर्दै मर्न परोस अरु मलाई केही चाहिएन।’

खेती र पशुपालनबाटै आर्थिक रुपमा सम्पन्न उनले गाउँघरका छिमेकीलाई सङ्कट पर्दा सरसापटी दिने गर्नुहुन्छ। उनको जाँगर देख्ने जोकोहीले प्रेरणा लिने गरेको स्थानीय दुर्गा भट्टले बताए।

उनले व्यावसायिक कृषि तथा पशुपालन सुरु गरेदेखि हालसम्म सरकारी अनुदान लिनुभएको छैन। तर माहुरीका लागि भने केही अनुदान पाए सहज हुने र हौसला मिल्ने आशामा छन्।

भट्टको अनुभवमा पछिल्लो समयमा हावापानीमा देखिएको परिवर्तनले धेरै असर गरेको छ । बजारमा पाइने नयाँ बीउ, मल, विषादीले पनि असर गरेको उहाँको अनुभव छ । पहिले–पहिले पाँच किलोसम्मको काउली उत्पादन हुने उनको बारीमा आजभोलि त्यत्रो काउली फल्दैन।पहिलेको परिमाणमा भैँसीले दिने दूध नै घटेको उनी बताउँछन्।

‘कतै पछिल्लो समयमा आएका यी विकासे घाँसले दूधको उत्पादन घटाएको त होइन?,’ उनले भने।

देशमै व्यावसायिक कृषि गर्न सके केही हदसम्म रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ । आफ्नै देशमा पसिना बगाउन सके सोहीअनुसार फल प्राप्त गर्न सकिने उनको सुझाव छ।