Sunday, April 19

विप्लव समूहका कैलाली जनसरकार प्रमुखसहित ६ जना पक्राउ

नेपाल अखबार,  कैलाली । प्रहरीले नेत्र विक्रम चन्द (विप्लव) समूहका कैलाली जिल्ला जनसरकार प्रमुखसहित ६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका-९ का ४८ वर्षीय दलबहादुर विकसहित ६ जनालाई पक्राउ गरेको जनाएको छ ।
विकसहित पक्राउ पर्नेमा २२ वर्षीय धनगढी-३ का लक्की शाह, वडा नम्बर-२ का ४० वर्षीय डम्बर सुनार, वडा नम्बर-७ का २५ वर्षीय सुवास जोशी छन् । त्यसैगरी त्रिवेणी –८ बाजुराका ३० वर्षीय प्रकाश रावल, खप्तड छान्ना-५ बझाङका ३० वर्षीय बबरजङ्ग सिंह रहेको प्रहरीले जनाएको छ ।
जोशी अखिल क्रान्तिकारी कैलाली जिल्ला अध्यक्ष भएको, रावल धनगढी उपमहानगरपालिकाका इन्चार्ज भएको र सिंह पूर्व क्रान्तिकारीका कैलाली जिल्ला अध्यक्ष एवं जिल्ला कमिटी सदस्य रहेको प्रहरीले बताएको छ ।
विभिन्न मितिमा कैलालीका विभिन्न क्षेत्रमा आपराधिक क्रियाकलाप, राज्यद्रोह, कर्तव्य ज्यान, हातहतियार तथा खरखजना, विस्फोटक पदार्थ तथा संगठित अपराधमा संलग्न रही फरार रहेको भन्दै विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
विकलाई पक्राउ गर्ने क्रममा अन्य ५ जनाले प्रहरीमाथि अभद्र व्यवहार गर्नुका साथै भगाउन खोजेपछि उनीहरूलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी निरीक्षक हिम्मतबहादुर थापाले छ बताए ।
कैलाली प्रहरीले शनिबार साँझ धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *