Sunday, July 26

छठको दोस्रो दिन आज ‘खरना’

नेपालअखबार,काठमाडाैँ । लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज ब्रतालु ‘खरना’ विधिको तयारीमा छन्।

Advertisement

पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मंगलबार ‘नहाय–खाय’ सम्पन्न गरेका ब्रतालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन्।

Advertisement
Advertisement

आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ ब्रतालुले त्यही खिर खानेछन्। यो विधिलाई ‘खरना’ भनिन्छ।

Advertisement

श्रद्धा, निष्ठा, समर्पणभाव  र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मंसिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन्।

आज दिनभरि उपवास गर्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्नेछन्।

पर्वको तेस्रो दिन भोलि अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख ब्रतालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिनेछन्। यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ।

त्यसैगरी सप्तमीका दिन बिहान ब्रतालुले उदाउँदा सूर्यलाई दोश्रो अर्घ्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ। उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई मिथिलामा  ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ। अर्घ्य दिँदा पहिले जटासहितको नरिवल र त्यसपछि क्रमशः पर्वका लागि पकाइएका मिष्टान्न परिकार र केरासहितका फलफूल सूर्यदेवलाई देखाउने चलन छ।

छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्तकहाँ पु¥याउन जाने मैथिल परम्परा छ। पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ।

अर्घ्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ। पर्वमा अर्घ्य दिने पवित्र जलाशय किनारमा घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ।

केही वर्ष पहिलेसम्म मधेसी (मधेशी) मूलका हिन्दूले मात्र मनाउदै आएका यो पर्व अब पर्वते मूलका हिन्दू पनि बाक्लै मनाउन थालेका छन्। मिथिलामा इस्लाम धर्मावलम्बीले समेत ब्रतालुलाई अर्घ्यका बेला आफ्नो भाकल सूर्यदेवलाई देखाइदिन दिने गरेका छन्। यसले छठ पर्वलाई साझा बनाएको छ।

यस पर्वमा सबै धर्म संस्कृति र वर्गतप्का सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य तेजबहादुर खड्का बताउँछन्।