Friday, March 13

बाजुराका एक हजार घरका छाना फेरिने

नेपाल अखबार, बाजुरा।
जनता आवास कार्यक्रमअन्तर्गत बाजुरा जिल्लाका करिब एक हजार घरका छाना फेरिने भएका छन्।
खर र फुसले छाएका नौ वटै स्थानीय तहका एक हजार १२ परिवारका लागि पहिलो चरणमा छाना छाउन बजेट विनियोजन गरिएको छ।
तीन वर्षभित्र देशभरका सबै खर र फुसका छाना विस्थापन गर्ने नीतिअनुसार बाजुरामा आगामी आर्थिक वर्षका लागि हजारभन्दा बढी घर परेका छन्।
स्थानीय तहको सिफारिसका आधारमा छनोटमा परेका प्रतिघरलाई रु ५० हजारका दरले बजेट परेको प्रतिनिधिसभा सदस्य लालबहादुर थापाका स्वकीय सचिव सुरेश रोकायाले जानकारी दिनुभयो । टिनका छाना छाउन अनुदानस्वरुप सबै खर र फुसका छाना हटाउने नीतिअनुसार पहिलो चरणमा जिल्लाका एक हजारभन्दा बढी परिवारका लागि बजेट व्यवस्था गरिएको रोकायाको भनाइ छ।
तराई र मधेशका केही जिल्लामा अघिल्लो वर्ष नै कार्यक्रम सञ्चालन भइसकेको छ।
पहिलो वर्ष बाजुराका त्रिवेणी नगरपालिकामा ५८, बूढीनन्दा नगरपालिका १३४, गौमूल गाउँपालिकामा १६६, बडिमालिका नगरपालिकामा ८८, बूढीगङ्गा नगरपालिकामा ९९ र स्वामिकार्तिक खापर गाउँपालिकामा ११० घरधुरीले अनुदान पाउने छन्।
यस्तै खप्तड छेडेदह गाउँपालिकामा १३१, जगन्नाथ गाउँपालिकामा १४१ र हिमाली गाउँपालिकामा ८५ घरधुरी समेटिएका छन्। अनुदानसहित कर्कटपाता खरीद गरेर घर छाउन बजेट व्यवस्था गरिएको छ।
यसअघि बाजुराजस्तो दुर्गम पहाडी जिल्लालाई समावेश नगरी कार्यक्रम ल्याइएकामा प्रतिनिधिसभा सदस्य लालबहादुर थापासहित सुदूरपश्चिम र हिमाली जिल्लाका सांसदले विरोध गरेका थिए।
विरोधलगत्तै सरकारले सबै जिल्ला समेट्ने र तीन वर्षभित्र खर र फुसका छानामुक्त नेपाल बनाउने नीति लिएको छ। बाजुरामा धेरै घर अहिले पनि खर र माटाले छाएका छन्। ती सबैलाई खरमुक्त बनाउने गरी प्रयास जारी रहेको सांसद थापाले बताए। रासस

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *