Sunday, July 26

श्रीमतीलाई बेहोस पारेर वर्षौंसम्म बलात्कार गर्ने, गराउने फ्रान्सका पुरूषसहित ५० जनालाई सजाय

नेपालअखबार,काठमाडौँ । श्रीमतीलाई बेहोस पारेर वर्षौंसम्म बलात्कार गरेका र दर्जनौं अरू पुरूषलाई समेत बोलाएर बलात्कार गराउन लगाएका एक फ्रान्सेली पुरूषलाई बीस वर्ष कैद सजाय सुनाइएको छ।

Advertisement

फ्रान्सेली नागरिक ७२ वर्षीय डोमिनिक पेलिकोलाई बिहीबार दक्षिण फ्रान्सको एभिन्यो सहरको अदालतले यो सजाय तोकेको हो।

Advertisement
Advertisement

डोमिनिकको आमन्त्रणमा आएर उनकी श्रीमतीलाई बलात्कार र यौन दुर्व्यवहार गर्ने ५० जना अरू पुरूषलाई पनि तीनदेखि १५ वर्षसम्म कैद सजाय सुनाइएको छ।

Advertisement

अदालतले तीमध्ये ४६ जनाले बलात्कार गरेको ठहर गरेको छ। त्यस्तै दुई जनालाई बलात्कार प्रयास गरेको र अरू दुई जनाले यौन उत्पीडन गरेकोमा दोषी ठहर गरेको छ।

डोमिनिक अवकाशप्राप्त इलेक्ट्रिसियन र जग्गाको कारोबार गर्ने व्यक्ति हुन्। उनले श्रीमती जिजेल पेलिकोलाई बेहोस पारेर वर्षौंसम्म बलात्कार गरेका थिए।

समान उमेरका उनीहरूले सन् १९७३ मा बिहे गरेका थिए। आर्थिक कारणले सन् २००१ मा उनीहरूले सम्बन्ध विच्छेद गरे पनि सँगै बस्दै आएका थिए। पछि सन् २००७ मा उनीहरूले फेरि बिहे गरेका थिए।

डोमिनिकले सन् २०११ देखि २०२० सम्म जिजेललाई निन्द्रा लाग्ने औषधि खुवाएका थिए। ती खानेकुरा जिजेलले थाहा नपाउने गरी उनका खानेकुरा, कफी वा बियरमा मिसाइदिन्थे।

बारम्बार त्यसो गर्दा जिजेललाई कति गोली दिँदा बेहोस हुन्छिन् भन्ने डोमिनिकलाई थाहा भइसकेको थियो। उनले ७ घण्टा जति बेहोस हुने मात्रामा दबाइ खुवाउँथे। त्यसपछि उनको बलात्कार गर्थे। अनि अनलाइन भेटिएका पुरूषहरूलाई बोलाएर आफ्नी बेहोस श्रीमतीको बलात्कार गराउँथे।

यति मात्र होइन, उनले आफ्ना बुहारीहरूको नुहाउने र सुत्ने कोठामा क्यामरा राखेका थिए। ती फोटा उनी अनलाइनमा राख्थे। उनले आफ्नै वयस्क छोरी भित्री कपडा लगाएर निदाएको फोटो पनि अनलाइनमा राख्थे।

छोरीले पछि फोटोमा आफूले लगाएको भित्री वस्त्र आफ्नो नभएको थाहा पाएपछि बुबाले आफूलाई पनि बेहोस पारेर बलात्कार गरेको शंका गरेकी थिइन्। डोमिनिकले भने अदालतमा छोरीलाई यौन दुर्व्यवहार नगरेको दाबी गरेका छन्।

डोमिनिकले अर्का एक पुरूषलाई पनि आफूले जस्तै गर्न सिकाएका थिए। ती पुरूषकी श्रीमतीलाई बेहोस पार्न लगाएर डोमिनिकले कैयौं पटक बलात्कार गरेका थिए। अरू कैयौं पुरूषलाई पनि उनीहरूका प्रेमिका वा पत्नीलाई बेहोस पार्न सिकाउने प्रस्ताव गरेका थिए।

सन् २०२० मा डोमिनिकले लुकेर सुपरमार्केटमा महिलाको स्कर्टमुनिको फोटो खिच्दै गर्दा सुरक्षा गार्डले देखेर उनलाई पक्राउ गरिएको थियो। प्रहरीले त्यसपछि उनको कम्प्युटर हेर्दा त्यहाँ राखिएका फोटो र भिडिओ देखेको थियो। उनकी श्रीमतीलाई वर्षौंसम्म बलात्कार गरेको, छोरी र बुहारीको पनि फोटो खिचेको खुलेको थियो।

उनकी श्रीमतीलाई उनी र अरू पुरूषले बलात्कार गरेको दुई सय वटाभन्दा बढी भिडिओ कम्प्युटरमा भेटिएको थियो।

यो मुद्दामा गत सेप्टेम्बरमा सुनुवाइ सुरू हुनुअघि जिजेलले डोमिनिकसँग सम्बन्ध विच्छेद गरेकी थिइन्।

उनले यस्तो हर्कत गर्ने पति र पुरूषहरूलाई लाज लाग्नुपर्छ भन्दै आफ्नो नाम गोप्य राख्नु नपर्ने भनेकी थिइन्।

त्यस्तै उनको माग अनुसार सो मुद्दामा सार्वजनिक सुनुवाइ गरिएको थियो। उनको त्यस्तो अदम्य साहसको सबैले तारिफ गरेका थिए। अदालतमा सुनुवाइका लागि हरेक पटक जाँदा ठूलो भीडले ताली बजाएर उनको स्वागत गर्ने गर्थ्यो।

बिबिसीले उनलाई सन् २०२४ मा १०० प्रभावशाली महिलाको सूचीमा समेत राखेको थियो।

सुनुवाइ क्रममा ३५ जना अभियुक्तले उनीहरूलाई जिजेलको बलात्कार गरेको भन्ने थाहै नभएको दाबी गरेका थिए। तर जिजेलले यौन सम्बन्धका लागि स्वीकृति नदिएकाले उनीहरू दोषी रहेको न्यायाधीशले बताएका थिए।

अदालतले पचास जनालाई बिहीबार सजाय सुनाए पनि डोमिनिकले खिचेको भिडिओमा देखिएका अरू २० पुरूष अझै फेला परेका छैनन्।

डोमिनिकमाथि एक जग्गा कारोबारी महिलालाई सन् १९९१ मा बलात्कारपछि हत्या गरेको र सन् १९९९ मा अर्की महिललाई बलात्कार प्रयास गरेको अभियोगको अझै छानबिन भइरहेको छ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)