Sunday, July 5

बाँकेमा धान खेत घट्यो, उत्पादन बढ्यो

नेपालअखबार,बाँके । बाँकेमा गत वर्षको तुलनामा यसवर्ष धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन भने बढेको छ । यस वर्ष ३४ हजार पाँच सय दुई हेक्टर जमिनमा बर्खे धानखेती गरिएकोमा एक लाख ५१ हजार आठ सय आठ दशमलव ८० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले जानकारी दिए ।

Advertisement

उनका अनुसार बाँकेमा यस वर्ष प्रतिहेक्टर धानको उत्पादकत्व चार दशमलव चार मेट्रिकटन रहेको थियो । गत वर्ष बर्खे र चैते धान गरी ३४ हजार छ सय ७५ हेक्टर जमिनमा धानखेती गरिएको थियो । जसबाट एकलाख ४५ हजार छ सय ५३ मेट्रिकटन धान उत्पादन भएको थियो ।

Advertisement
Advertisement

गतवर्षको चैते र बर्खे धानभन्दा यस वर्ष चैतेबाहेक बर्खेधानको उत्पादननै एक लाख ५१ हजार आठ सय आठ दशमलव ८० मेट्रिकटन भएको छ ।  गत आवभन्दा यसवर्ष चार दशमलव २४ प्रतिशतका दरले धान उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ ।

Advertisement

कार्यालयका अनुसार सिञ्चित क्षेत्र विस्तार, हाइब्रिड जातको खेतीमा वृद्धि, बीउ प्रतिस्थापन दर वृद्धि र उपयुक्त मौसमका कारण धान उत्पादनमा वृद्धि भएको श्रेष्ठले जानकारी दिए । गत वर्ष ३४ हजार छ सय ७५ हेक्टरमा धानखेती भएकोमा यस वर्ष ३४ हजार पाँच सय दुई हेक्टर जमिनमा धान रोपाइँ भएको थियो ।

बाँकेमा ३५ देखि ४० हेक्टर जमिनमा चैते धान खेती हुने गरेको छ । यस वर्ष बेलैमा पानी परेकाले धान उत्पादन बढेको सूचना अधिकारी श्रेष्ठको भनाइ छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी श्रेष्ठले भने, ‘यस वर्ष समयमा पानी परेपछि धान उत्पादनमा वृद्धि भएको छ, यसैगरी सिक्टा सिँचाइ आयोजनाबाट किसानले लाभ पाएका छन् ।’

बाँकेमा सिक्टा सिँचाइलगायत विभिन्न योजनाबाट गरी २५ हजार एक सय १५ दशमलव ३० हेक्टर जमिनमा मात्रै सिँचाइ हुने गरेको छ । करिब १० हजार हेक्टर जमिनमा आकाशे पानीको भरमा किसानले धानखेती गरिरहेका छन् ।