Thursday, July 30

जुनेलो, फापर, गहत फलाउने किसान भएनन्

नेपालअखबार,गाइघाट। जिल्लाको पहाडी क्षेत्रमा लामो समयदेखि परम्परागत रूपमा उत्पादन हुँदै आएका फापर, जुनेलो, गहतलगायत अन्नबाली हिजोआज खेती हुन छाडेको छ।

Advertisement

ताप्ली, उदयपुरगढी, रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा परम्परागत रूपमा खेती हुँदै आएको फापर, जुनेलो, गहत जस्ता अन्नबाली लगाउने किसानको कमी हुन थालेपछि लोप हुने अवस्थामा पुगेको हो।

Advertisement
Advertisement

रौतामाई गाउँपाालिका–५ रामेटारका किसान पदमबहादुर मगरले २० वर्ष अगाडिसम्म गाउँमा गहत, जुनेलोको प्रशस्त उत्पादन हुने बताउँदै पछिल्लो समय खेती गर्नेको सङ्ख्यामा कमी आएपछि उत्पादन पनि नभएको उल्लेख गरे।

Advertisement

पछिल्लो समय बजारसमेत पाउन टाडेको उनको भनाइ छ ।

रौतामाई–४ का किसान नेत्रप्रसाद खत्रीले भने, ‘करिब १५–२० वर्ष अघिसम्म गाउँघरमा जुनेलो प्रशस्त उत्पादन गरेर बिक्री गर्दथ्यौँ । हिजोआज यसको खेती हुन छाडेपछि खान मन लागेमा अन्यत्र गएर किनेर ल्याउन बाध्य भएका छौं,’ उनले भने।

उदयपुरगढी गाउँपालिका–४ डुम्रेका किसान बहादुर घले मगरले परम्परागत अन्नबाली गाउँघरबाट लोप हुँदै गएकामा चिन्ता व्यक्त गर्दै भने, ‘विगतमा आफूहरूले घरबारीमा गहत, पाखाबारीमा चारैतिर जुनेलो खेती गर्दथ्यौँ । अहिले सबै युवा शिक्षा, रोजगारीलगायत कारणले गाउँ छाडेर सहर तथा विदेश जान थालेपछि गाउँमा कसले खेती गर्ने ? जग्गा सबै बाँझै रहन थाल्यो, काम गर्ने जागरिला युवा गाउँघरमा बस्दैनन्।’

गाउँघरमा परम्परागत खेतीमा सक्रिय व्यक्ति वृद्ध हुनु, युवा कृषि पेसामा आबद्ध नहुनु तथा विदेश वा सहर जानुलगायत कारणले खेती बाँझो हुन थालेको ताप्ली गाउँपालिका–४ का बर्जबहादुर राईले बताए।

खेती गर्ने युवा जनशक्तिको अभावमा हिजोआज जुनेलो, फापर, गहत जस्ता अन्नबाली उत्पादन हुने छोडेको उनले उल्लेख गरे।

‘करिब २० वर्ष अगाडिसम्म यहाँका पाखाबारीमा जुनेलो खेती बढी हुने भएकाले गाउँनै जुनेलो मय हुन्थ्यो । हिजोआज यसको खेती गर्ने बुढाबुढी अशक्त भए, कोही बितेर गए, युवाहरू जिल्ला बाहिर र विदेश जान थाले, गाउँ रित्तो हुँदै गयो,’ उनले भने।

जिल्लाको पहाडी क्षेत्रका अधिकांश डाँडापाखा, बारीहरूमा विगतमा प्रशस्त जुनेलो उत्पादन हुने गरे पनि हिजोआज जनशक्ति नहुँदा यसको खेती हुन छाडेको यहाँका कृषक बताउँछन् ।

विगतमा गाउँको पाखा तथा सुख्खाबारीमा अनिवार्य गहत तथा जुनेलोको उत्पादन गरिनेमा पछिल्लो समय युवाले खेतीप्रति चासो नदिनु र गाउँघरबाट युवा अन्यत्र पलाएन हुनुलगायत कारणले परम्परागत बाली लोप हुँदै गएका रौतामाई गाउँपालिकाका पूव अध्यक्ष गजेन्द्र खड्काले बताए।

उनका अनुसार जुनेलो रौताको सल्ले, हात्तीपाइले र पोखरे क्षेत्रमा अझै पनि केही कृषकले उत्पादन गरिरहेका छन् । फापर र गहत भने लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ।

उदयपुरगढी गाउँपालिका दनुवारबेँसीका कृषक रितबहादुर तामाङले विगतमा गाउँघरमा फापर, जुनेलो उत्पादन गरेर अन्यत्र बिक्री गर्ने गरिएकामा हिजोआज खेती हुन छाडेपछि आफैँलाई खान पनि खोजेर ल्याउनुपर्ने अवस्था आएको बताए।

जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी अनु बिसीले विगतमा जिल्लाको पहाडी क्षेत्रका गाउँघरमा उत्पादन हुने फापर, जुनेलो, गहत प्रशस्त उत्पादन हुने गरेकामा पछिल्लो समय र किसानले खेती गर्न छाडेका बताए।

प्रत्येक वर्ष जिल्लाको पहाडी क्षेत्रमा अन्नबाली कोदोबाहेक अन्य परम्परागत बालीहरूको उत्पादन घट्दै गएको उनले जानकारी दिए।