Sunday, April 19

सरकारले ल्याएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

नेपालअखबार, काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले सरकारले संसदमा दर्ता गराएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकपछि प्रचार विभागका प्रमुख प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै सरकारले ल्याएका अध्यादेशहरूमा संसदमा पार्टीले विपक्षमा मतदान गर्ने निर्णय गरेको उल्लेख छ।

Advertisement

सरकारले माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश दर्ता गरे पनि निर्णयार्थ पेस हुन सकेको छैन। भूमिसम्बन्धी अध्यादेशमा राष्ट्रिय सभामा बहुमत पुग्ने नदेखिएपछि सरकारले अध्यादेश निर्णयार्थ पेस नगरेको हो।

‘संसद अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गरेको छ। संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानून, संसद नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विद्येयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत छ, अध्यादेशका अन्तरवस्तु पनि गलत र हानिकारक छन्,’ ज्वालाले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘अध्यादेशहरूबाट भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निश्कर्षसहित अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा हाम्रो पार्टीको असहमति र विरोध छ। त्यसैले हाम्रो पार्टीले संसदमा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।’

नेपाली कांग्रेस र नेकपा (एमाले) ले अध्यादेशमा सहयोग गर्न एकीकृत समाजवादीलाई आग्रह गरेको चर्चाबीच उक्त पार्टीले अध्यादेशको विपक्षमा उभिने निर्णय गरेको हो।

प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना र राष्ट्रिय सभामा ८ जना सांसद छन्।