Monday, July 27

नारायणघाट– बुटवल सडक: पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र

नेपालअखबार,नवलपुर।  चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गत ६५ किलोमिटर पूर्वखण्डमा ४७ किलोमिटर कालोपत्र भएको छ।

Advertisement

नारायणघाट बुटवल सडक आयोजना (पूर्वखण्ड) कार्यालयका अनुसार हालसम्म यो बाटोमा  ५८ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ। गैंडाकोटतर्फ १६ किलोमिटर कालोपत्र पूरा गरी देवचुली नगरपालिकामा धमाधम कालोपत्र भइरहेको छ। यो खण्डमा २२ वटा साना पुल निर्माण भएका छन्।

Advertisement
Advertisement

निर्माण पूरा भएका पुलमा लिंकरोड निर्माण पूरा नभएकाले पुलबाट यातायातका साधन सञ्चालन हुन समय लाग्ने उक्त कार्यालयका सूचना अधिकारी शिव खनालले बताए। विनयी खोलाको पुल आगामी मनसुन अगाडि नै पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको छ। केही हप्ता अगाडि अत्यधिक भारवहन गरेको ट्रकका कारण पुलमा क्षति भएपछि पथान्तरण गरेर सवारीसाधन सञ्चालन भएका छन्।

Advertisement

सडक विस्तारको ठेक्का पाएको निर्माण कम्पनी चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङका सहव्यवस्थापक राकेश झाले ४२ ठाउँमा सडक विस्तार जारी रहेको बताए।

‘हामीले सडक विस्तारसँगै पुल निर्माणमा जनशक्ति केन्द्रित गरेका छौं,’ उनले भने, ‘सडक कालोपत्र र पुल निर्माणसँगै कल्भर्ट, सब बेस, बेस, फिलिङ, ड्रेनेज, ग्याबीनलगायत ६५० भन्दा बढी कामदार परिचालन गरेर काम गरिरहेका छौं।’ आगामी वैशाखभित्रमा दुम्कीबाससम्म  कालोपत्र गरिसक्ने लक्ष्य छ। ‘दाउन्नेमा पूर्वीखण्डमा पर्ने सबैभन्दा कठिन ठाउँको डाँडाको भित्तो कटान पूरा भएको छ,’ उनले भने।