Monday, May 11

८ घन्टादेखि बिपी राजमार्ग अवरूद्ध

नेपालअखबार,काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ। सोमबार रातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मंगलटारतर्फको सडक राति थप क्षति पुर्‍याएपछि राजमार्ग खुलाउन सकिएको थिएन। उनले प्रहरी टोली तथा स्थानीयका पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको बताए। गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो। प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ।

Advertisement

यसैबीच, सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता यहाँकी एक महिलाको मंगलबार पनि खोजी सुरू गरिएको प्रहरीले जनाएको छ। साँझ ६ः०० बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँकी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन्।

मेला गएर फर्कने क्रममा उक्त खोलामा आएको बाढीले उनलाई बगाएको हो। कार्यालयका अनुसार प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरे पनि सोमबार राति अबेरसम्म फेला नपरेपछि खोजीकार्य स्थगित गरिएको थियो। आज बिहानदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी प्रहरीसहितको टोली परिचालित गरी पुनः खोजीकार्य सुरु गरिएको प्रहरी नायब उपरीक्षक घलेले बताए। सोामबारको वर्षाले पनौती बसपार्क आसपासका केही क्षेत्र डुबानमा परेको थियो। यस्तै आलु लगाइएको खेतमा खोलाको बाढी पस्दा क्षति भएको छ।