Thursday, July 9

पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको आकर्षण घट्दो

नेपालअखबार,सोलुखुम्बु । सोलुखुम्बुका स्थानीय दावा शेर्पाको ४६ वर्ष सगरमाथा क्षेत्रमा आवतजावत गर्दागर्दै बित्यो । कलिलो उमेरमै हिमालमा भारी बोक्न सुरू गरेका उनीहाल ६१ वर्षको भए। पर्वतारोहण पथप्रदर्शकका रूपमा आठ पटक सगरमाथा आरोहण गरिसकेका दावामा हिमालप्रतिको मोह भने अझै उस्तै छ ।

Advertisement

भरियाबाट पर्यटन क्षेत्रमा प्रवेश गरेका उनलाई सगरमाथा क्षेत्रका गाउँहरू र त्यहाँको बाटो निकै प्रिय लाग्छ । उनी विगत सम्झँदै भन्छन्, “हालको खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजार अहिलेको जस्तो थिएन । पुराना घरहरू थिए । पर्यटन सिजनको बेलामा सयौँ टेन्ट टाँगिएका हुन्थे । शेर्पा युवाहरू कोही भारी बोक्थे, अङ्ग्रेजी बोल्न जान्नेहरू ट्रेकिङ गाइडका रूपमा काम गर्थे ।”

Advertisement
Advertisement

पदयात्राका क्रममा गन्तव्यमा अहिलेको जस्तो होटल थिएनन् । कतिपय स्थानमा ओडारमा रात बिताएका अनुभव उनीसँग छ । उनी सम्झँदै भन्छन्, “जहाँ दाउरा भेटिन्छ, बोक्थ्यौँ । जहाँ ओडार भेटिन्छ, त्यहाँ बस्थ्यौँ र आगो बालेर खाना पकाएर खान्थ्यौँ । त्यो समयमा प्रायः शेर्पा समुदायका युवाहरू देखिन्थे । तर अहिले शेर्पा युवाहरू अलि कम देखिन्छन् ।”

Advertisement

पहिलो पुस्ताका अनुभवी शेर्पाहरूले पर्वतारोहण पथप्रदर्शक धाने पनि आगामी दिनहरूमा पथप्रदर्शकका रूपमा शेर्पा समुदायका युवाहरूको कमी हुन सक्ने नेपाल पर्वतारोहण महासङ्घको भनाइ छ । छिटपुट शेर्पा युवाहरूले पर्वतारोहण क्षेत्रमा आफ्नो भविष्य देखेपनि वर्षौँ पर्वतारोहण पेसामा लागेका अनुभवी शेर्पाहरूका सन्तान यो पेसामा नदेखिएको पर्वतारोहण पेसामा आबद्धहरू बताउँछन् ।

नेपाल पर्वतारोहण सङ्घका सञ्चार अधिकृत दीपेन्द्र गुरूङका अनुसार सोलुखुम्बु जिल्लाबाट अनुभवी पर्वतारोहण पथप्रदर्शकहरू भए पनि दोस्रो पुस्ताका शेर्पा युवाहरूको कम सहभागिता देखिन्छ । उनी भन्छन् “हाल सोलुखुम्बुपछि सङ्खुवासभा जिल्लाबाट धेरै पर्वतारोहण पथप्रदर्शकको रूपमा सहभागी भएको देखिन्छ । त्यसपछि खोटाङ, ओखलढुङ्गालगायत जिल्लाबाट पनि सहभागिता छ ।”सङ्घका अनुसार नेपालमा ४६१ हिमाल आरोहणका लागि खुला गरिएको छ । करिब १५० बढी हिमाल आरोहण हुनै बाँकी छ । कतिपय हिमालहरू अझै अध्ययनको क्रममा छन् । सञ्चार अधिकृत गुरूङ भन्छन्, “पर्वतारोहण पथप्रदर्शकमा शेर्पा युवाहरूको आकर्षण घट्दै गए पनि अन्य समुदायका युवाहरूको आकर्षण बढ्दो छ । भविष्यमा पर्यटकहरूको सङ्ख्या बढ्यो भने पर्वतारोहण पथप्रदर्शक जनशक्ति कम हुन सक्छ । हालसम्म चिन्ता छैन । तर, हिमाल चढ्नु जटिल पेसा भएकाले यस पेसाप्रति आकर्षण घट्छ कि भन्ने चिन्ता हो ।”

शेर्पा संस्कृति र शेर्पा समुदायको हिमालसँग जोडिएको सम्बन्ध केन्द्रित अध्ययन अनुसन्धान गर्दै आएका ६४ वर्षीय लाक्पा सोनाम शेर्पा पहिलेको तुलनामा पछिल्लो समय हिमाल आरोहण पेसामा शेर्पा युवाहरूको आकर्षण घट्दो क्रममा रहेको स्वीकार गर्छन् । हालसम्म शेर्पाहरू हिमाल आरोहण पेसामा सक्रिय रहेका र आउने पुस्ता यस पेसामा रहन्छन् वा रहँदैनन् भन्ने टुङ्गो नरहेको हिमालयन उद्धार सङ्घका कार्यकारी प्रमुख गोविन्द बस्यालले बताए । उनी भने, “हालसम्म हिमाल आरोहण पेसामा शेर्पा समुदायको बाहुल्यता छ । यस पेसामा आबद्ध शेर्पाका छोराछोरी कोही काठमाडौँमा आएर पढ्ने र कोही विदेशमा अध्ययन गर्ने भएकाले बाबुबाजेको पेसामा उनीहरू फर्कन्छन् भन्ने निश्चित छैन ।”

खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजारमा शेर्पा सङ्ग्रहालय सञ्चालन गर्नुभएका लाक्पा सोनामका अनुसार शेर्पाहरूले यो पेसा छोड्दैमा भविष्यमा समस्या नहुन सक्छ । शेर्पा युवाहरूले हिमाल चढ्न छाडे अन्य समुदायका युवाहरूले चढ्ने उनको अनुमान छ । बरू जलवायु परिवर्तनको कारण सगरमाथा रहन्छ कि रहँदैन भन्ने मुख्य चिन्ता रहेको उहाँ बताउनुहुन्छ । “बर्सेनि सगरमाथामा हिउँ कम हुँदै गएको छ । सगरमाथा पत्थरमा परिणत भयो भने सगरमाथा को चढ्छ ?”, उनी प्रश्न गर्छन् ।

हालसम्म आठ पटक सगरमाथा आरोहण गरेका ५१ वर्षीय निमा शेर्पा पर्वतारोहण पथप्रदर्शकमा शेर्पा युवाहरूको कमी भएको बताछन् । उनी भन्छन्, “हाम्रो पुस्ताका शेर्पाहरूले हाल गाइडको काम धानिरहेका छौँ । हिमाल चढ्ने पेसा जोखिमयुक्त भएको कारण पछि आउने पढेलेखेका पुस्ताले यस पेसालाई अँगाल्दैनन् कि भन्ने चिन्ता छ । हाल पर्वतारोहणमा अनुभवी र उमेरले परिपक्व शेर्पाहरू धेरै भेटिन्छन्, पछिल्लो पुस्ताका शेर्पाहरू कम भेटिन्छन् ।”

सोलुखुम्बुको दूधकोसी गाउँपालिका–९ का तार्के शेर्पा उमेरले ५८ वर्ष पुगे । कलिलो उमेरदेखिनै भारी बोकेर सगरमाथा क्षेत्रमा ओहोरदोहोर गरिरहेका उनको पनि सगरमाथा क्षेत्रसँगको गहिरो सम्बन्ध छ । आठ पटक सगरमाथा आरोहण गरिसकेका तार्केले सगरमाथा आरोहण गर्न छाडेको तीन वर्ष बितिसक्यो । आठ हजार मिटरमुनिका हिमालमा अझै उनी आरोहण दलको नेतृत्व गरिरहेका छन् । हिमाल आरोहणमा शेर्पा युवाहरूको कमी हुँदै आएको उनको स्वीकारोक्ति छ ।

“पढेलेखेका केही युवाहरू व्यवसायमा लागेका छन् भने, केही युवाहरू अमेरिका, क्यानडा, जापानलगायतका देशहरूमा उच्च शिक्षा अध्ययनका लागि पुगेका छन्”, उनले भने, “पछिल्ला पुस्ताका शेर्पा युवाहरू पेसामा सक्रिय देखिँदैन । निरन्तर आम्दानीको स्रोत नभएको र हिमाल चढ्नेहरूका लागि सरकारबाट सेवा सुविधा नभएका कारण पनि यो पेसाबाट शेर्पाहरू विस्थापित भएको हुनुपर्छ ।”

खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजारका ओङछु शेर्पाका अनुसार पहिले प्रत्येक परिवारको कान्छो छोराबाहेक अरू छोराहरूले सगरमाथा आरोहण गर्नुपथ्र्यो । ओङछु शेर्पा आफू परिवारको एक्लो छोरा भएको कारण ट्रेकिङ गाइडको काम सम्म गरेको तर हिमाल आरोहण नगरेको बताउछन् । उनी भन्छन्, “हाल गाउँमा युवाहरू त्यति भेटिँदैनन् । सबै विदेशिएका छन् । खुम्बु क्षेत्रका पाङबोचे, थामे, खुम्बुलगायतका गाउँका केही शेर्पा युवाहरू हिमाल चढ्ने पेसा अँगाले पनि नाम्चे बजारका युवाहरू खासै छैनन् ।”

तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मे २९ मा सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेपछि सगरमाथा आरोहणको बाटो खुलेको हो । विश्वभरबाट पर्यटकहरू सगरमाथा आरोहण तथा त्यस क्षेत्रको अवलोकनका लागि आउन थालेपछि खुम्बु क्षेत्रका स्थानीयले भारी बोकेर आर्थिक आयआर्जन गर्ने अवसर पाएका थिए ।

सगरमाथा आधार शिविर पुग्नका लागि काठमाडौँबाट खुम्बु पासाङल्हामु गाउँपालिका–२ सुर्केसम्म यातायात सुविधा छ भने, काठमाडौँ र रामेछापबाट लुक्लासम्म हवाई सुविधा छ । लुक्लादेखि सगरमाथा आधार शिविरतर्फ पैदलयात्रामार्फत पुग्न सकिन्छ । बाटोमा सुविधा सम्पन्न होटलहरू छन् । हाल लुक्ला र सुर्केबाट खच्चड र मान्छेमार्फत सामान ढुवानी गरिन्छ ।

नेपालमा हिमाल चढ्ने समुदायको रूपमा शेर्पा समुदायलाई चिनिन्छ । कुनै समय सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रका हरेक युवाहरू सगरमाथा आरोहण र ट्रेकिङ गाइडको लागि तयार हुन्थे । हाल शेर्पा युवाहरूको यस पेसाप्रति आकर्षण घट्दो देखिएको हो ।