Sunday, July 26

पाकिस्तानले ‘फाइटर जेट’ खसालिदिएको कुरा भारतले पहिलो पटक स्वीकार गर्‍यो

नेपालअखबार, काठमाडौं । भारतले आफ्नो फाइटर जेट पाकिस्तानले खसालिदिएको कुरा पहिलोपटक स्वीकार गरेको छ।

Advertisement

गत महिना पाकिस्तानसँगको संघर्षका क्रममा भारतको फाइटर जेट खसेको कुरा भारतीय सशस्त्र बलका रक्षा प्रमुख अनील चौहानले स्वीकार गरेका हुन्।

Advertisement
Advertisement

चार दिनसम्म भएको भारत-पाकिस्तान संघर्षमा पाकिस्तानले भारतको ६ वटा लडाकू विमान खसालिदिएको दाबी गरेको थियो। त्यसमा भारतले लगातार अस्वीकार गर्दै आएको थियो।

Advertisement

शनिबार चौहानले भने घुमाउरो पाराले पाकिस्तानले भारतको लडाकू विमान खसालिदिएको कुरा स्वीकार गरेका हुन्।

शनिबार सिंगापुरमा एसियाली देशहरूका रक्षा प्रमुखकहरूको प्रमुख मञ्च शांग्रिला डायलगबीच अमेरिकी पत्रिका ब्लुमबर्गका पत्रकारले चौहानलाई भारतको लडाकू विमान खसालेको पाकिस्तानको दाबीबारे सोधेका थिए।

जबाफमा चौहानले पाकिस्तानको उक्त दाबीलाई गलत भने। ‘उनीहरूको दाबी हाम्रा लागि महत्त्व राख्दैन,’ उनले भने, ‘ती विमानहरू किन खसे भन्ने चाहिँ महत्त्वपूर्ण हो।’

उनको यो भनाइले पाकिस्तानले भारतीय लडाकू विमान खसालेको पुष्टि गरेको भनेर अमेरिकी मिडिया सिएनएनले लेखेको छ। तर कति विमान खसेको हो भन्ने चाहिँ पुष्टि भएको छैन। कुराकानीका क्रममा चौहानले ‘विमानहरू’ भनेका कारण एउटा भन्दा बढी लडाकु विमान खसालेको प्रष्ट हुन्छ। तर त्यसपछि के गर्‍यौं भन्ने कुरा भारतका लागि महत्त्वपूर्ण हुने चौहानले बताएका छन्।

उनले त्यतिबेला रणनीतिक कमजोरी भएको स्वीकार पनि गरे।

‘हामीले गरेको रणनीतिक गल्तीलाई बुझ्न, सुधार गर्न र त्यसलाई सच्याउन सक्यौं। दुई दिनपछि हामीले फेरि हाम्रा सबै जेटहरू उडायौं र लामो दूरीमा निशाना बनायौ,’ उनले भनेका छन्।

उनको यो भनाइले पाकिस्तानले भारतको लडाकू विमान खसालेको पुष्टि गर्छ।

जम्मू-काश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको जबाफमा भारतले वैशाख २४ गते पाकिस्तानमा आक्रमण गरेको थियो।

त्यतिबेला पाकिस्तानले भारतका ५ वटा लडाकू विमान खसालिदिएको दाबी गरेको थियो। पाँचमध्ये तीनवटा फ्रान्समा निर्मित रफाल, एउटा रूसमा निर्मित मिग-२९ र अर्को पनि रूसमै बनेको सुखोइ सु-३० भएको उसको दाबी थियो। पाकिस्तानले चीनमा बनेको जे-१० सी लडाकु विमान प्रयोग गरी भारतीय लडाकू विमान खसालेको दाबी गरेको थियो।

सिएनएनले फ्रान्सको गुप्तचर विभागका एक उच्च अधिकारीलाई पनि यसबारेमा सोधेको थियो। उनले त्यतिबेला एउटा मात्रै खसेको हो कि त्योभन्दा बढी खसेको हो भनेर बुझ्ने काम भइरहेको बताएका थिए।

भारतकै प्रत्यक्षदर्शीहरूले पनि एउटा लडाकू विमान आगोको लप्कासहित खसेको देखिएको सिएनएनसँग बताएका थिए।