Friday, September 18

ट्रम्पले लगाए यी १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका छन्।

Advertisement

बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले विदेशी आतंकवाद र सुरक्षा खतराबाट अमेरिकालाई जोगाउनुपर्ने भन्दै विभिन्न १२ वटा देशका नागरिकहरूलाई प्रवेश रोक लगाएका हुन्।

Advertisement
Advertisement

प्रतिबन्ध लगाइएका देशहरुमा अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन्।

Advertisement

त्यस्तै अन्य ८ मुलुकलाई पनि आंशिक प्रतिबन्ध लगाइएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकमाथि आंशिक यात्रा प्रतिबन्ध लगाइएको छ।

‘हामी हाम्रो देशलाई नोक्सानी पुर्‍याउन चाहनेहरूलाई प्रवेश अनुमति दिँदैनौं,’ ट्रम्पले ट्रुथ सोसलमा भिडिओ सन्देश जारी गर्दै भनेका छन्। प्रतिबन्ध लगाइएका देशहरूको सूचीमा थप संशोधन हुन सक्ने पनि ट्रम्पले बताएका छन्। उनले प्रतिबन्ध लगाइएको देशहरूको सूचीमा अरू देशहरु पनि थपिन सक्ने भनेका छन्।

यी प्रतिबन्धहरू जुन ९ देखि लागू हुने बताइएको छ।

ट्रम्पले यात्रा प्रतिबन्ध लगाइएका यी देशहरुमा आतंकवादको ठूलो उपस्थिति रहेको दाबी गरेका छन्। त्यहाँ भिसा सुरक्षामा सहयोगको कमी रहेको, यात्रुको पहिचान पुष्टि गर्ने क्षमता अभाव रहेको र आपराधिक इतिहासको पर्याप्त अभिलेख नभएको बताएका छन्।

‘त्यस्ता देशहरूबाट खुला आप्रवासन स्वीकार गर्न सक्दैनौं,’ ट्रम्पले भिडिओ सन्देशमा भनेका छन्।

अमेरिकाको यो घोषणापछि सोमालियाले तत्कालै सुरक्षा मुद्दाहरू सम्बोधन गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएको रोयटर्सले लेखेको छ।

‘सोमालिया अमेरिकासँगको लामो सम्बन्धलाई महत्त्व दिन्छ र सुरक्षाको दृष्टिले उठाइएका चिन्ताहरूलाई सम्बोधनका लागि संवाद गर्न तयार छ,’ सोमाली राजदूत दाहिर हसन अब्दीले विज्ञप्ती जारी गरेर भनेका छन्।