
नेपालअखबार,काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले संसदीय सुनुवाइ नभई विभिन्न ५२ पदमा नियुक्त भएका पदाधिकारीहरूबारे परेको रिटमा सर्वोच्चले गरेको फैसलाबारे कुरा उठाएका छन् । जारी केन्द्रीय कार्यसमितिको आजको बैठकमा सदस्य वाग्लेले संवैधानिक पद्धतिलाई लज्जित बनाएको बताए ।
संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी विषय नभनी वाग्लेले बैठकमा भने, ‘हालै मात्र सर्वोच्चले गरेको जुन फैसला हो त्यसले हाम्रो संवैधानिक पद्धतिलाई लज्जित बनाएको छ । बेइज्जती गरेको छ ।’
उनले सर्वोच्चले गरेको यो फैसला कतै अज्ञात कोठाबाट नियन्त्रित ढङ्गबाट अदालतमा प्रभावित पारेर संवैधानिक अङ्गहरूमा कब्जा जमाउन खोजिएको त होइन ? भन्ने प्रश्न सृजना गरेको बताए । ‘आज सर्वोच्चले गरेको यो फैसला कतै अज्ञात कोठाबाट नियन्त्रित ढङ्गबाट अदालतमा प्रभावित पारेर संवैधानिक अङ्गहरूमा कब्जा जमाउन खोजिएको त होइन ?’ वाग्लेले बैठकमा भने, ‘आज यो आशंकालाई पनि सतर्कतापूर्वक अध्ययन गर्नुहुन म नेतृत्व समक्ष अनुरोध गर्न चाहन्छु ।’
वाग्लेले अध्यादेशको मार्फतबाट के मुलुकको आधारभूत संवैधानिक प्रावधानहरूमाथि संशोधन गर्न सकिन्छ ? भन्ने प्रश्न पनि गरे ।
सत्ता गठबन्धनमा रहेको अर्को दलले रहस्यमयी रूपले जालझेल गरिरहेको भन्दै त्यसमा सतर्क हुन नेतृत्व तहका नेताहरूलाई आग्रह गरे । ‘सत्ताकै गठबन्धनमा रहेको अर्को दलले कुनै अज्ञात रूपमा रहस्यमयी रूपमा जाल झेल गरिरहेको छ कि त्यसबाट पनि नेतृत्व तह सतर्क रहन म आग्रह गर्न चाहन्छु,’ वाग्लेले भने, ‘भर्खरै मात्र निजामती विधेयक जो विशेष गरेर कांग्रेस पार्टीको पहलमा संसदमा पेस गरियो । त्यसमाथि गरिएको छेडखानी होस् कि अन्य कुनै विषय, त्यसमा ध्यान दिन आवश्यक छ ।’

