
नेपालअखबार,धनकुटा । पहाडी बारीमा उत्पादन भएको सबै किबीले बजार पाउँदैन । आकार र बाहिरी स्वरूपका कारण राम्रो मूल्य नपाउने किबी कतिपय किसानको बारीमै खेर जान्छ । तर, धनकुटाको महालक्ष्मी नगरपालिका–२, तोरीबारीमा स्थापना भएको तिनजुरे किबी वाइन उद्योगले त्यही किबीलाई प्रशोधन गरेर नयाँ उत्पादन बजारमा ल्याउने तयारी गरेको छ ।
करिब १५ करोड रुपैयाँभन्दा बढी लगानीमा स्थापना भएको बसन्तपुर तिनजुरे बेभरेज प्रालिले ‘तिनजुरे बगान’ ब्रान्डमा किबी वाइन उत्पादन गरिरहेको छ । उद्योगले छिट्टै व्यावसायिक बिक्री सुरु गर्ने तयारी गरेको हो ।
बजारमा पठाउनुअघि उद्योगले वाइनको स्वाद, गुणस्तर र उपभोक्ताको रुचि परीक्षण गरिरहेको छ । दसैँ र तिहारको बीचमा काठमाडौंका वाइन पारखीमाझ गरिएको परीक्षणबाट प्राप्त सुझावका आधारमा स्वाद र गुणस्तरमा थप सुधार भइरहेको उद्योगले जनाएको छ ।
उद्योग सञ्चालक दुर्गामणि पौडेलका अनुसार स्थानीय कृषि उपजको उपयोग बढाउने र किसानको उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले किबी वाइन उद्योग स्थापना गरिएको हो । नियमित उत्पादन भइरहे पनि गुणस्तरमा सम्झौता नगरी व्यावसायिक बिक्री सुरु गर्ने तयारी भइरहेको उनले बताए ।
कृषि उपजमा आधारित उद्योग भए पनि वाइन उत्पादनमा लाग्ने अन्तःशुल्कका कारण लागत बढेको पौडेलको गुनासो छ । कृषि उत्पादन प्रशोधन गरेर मूल्य अभिवृद्धि गर्ने उद्योगलाई करमा सहुलियत दिनुपर्ने उनको माग छ । स्थानीय किसानबाट कच्चा पदार्थ खरिद गर्ने र गाउँमै रोजगारी सिर्जना गर्ने यस्ता उद्योगलाई प्रोत्साहन गर्न सके ग्रामीण अर्थतन्त्रमा योगदान पुग्ने उनको भनाइ छ ।
किसानका लागि बजारको विकल्प
२०७४ सालमा स्थापना भएको उद्योगले आफ्नै करिब एक सय रोपनी क्षेत्रफलमा किबी खेती गर्दै आएको छ । आफ्नै बगानको उत्पादनले मात्र उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ नपुग्ने भएपछि स्थानीय किसान र छिमेकी जिल्लाबाट समेत किबी खरिद गर्ने गरिएको छ ।
उद्योगको वार्षिक उत्पादन क्षमता तीन लाख लिटर छ । पूर्ण क्षमतामा सञ्चालन गर्न वार्षिक पाँच सय मेट्रिक टन किबी आवश्यक पर्छ । तर, पर्याप्त कच्चा पदार्थ उपलब्ध नहुँदा उद्योगले अहिले पूर्ण क्षमतामा उत्पादन गर्न सकेको छैन ।
उद्योगले गत वर्ष किसानबाट प्रतिकिलो ८० रुपैयाँका दरले किबी खरिद गरेको थियो । चालु वर्ष बी र सी ग्रेडका किबीसमेत किसानको बारीबाटै खरिद गरिरहेको छ । बजारमा बिक्री गर्न कठिन हुने वा कम मूल्य पाइने किबीसमेत उद्योगले खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्री गर्ने अर्को विकल्प मिलेको छ ।
स्थानीय किसान टीकाराम गुरुङका अनुसार पहिले बजारमा सहजै बिक्री नहुने किबीसमेत उद्योगले खरिद गर्न थालेपछि किसानलाई राहत पुगेको छ । उत्पादन भएको सबै फल बजारमा बिक्री नहुँदा आर्थिक क्षति बेहोर्नुपर्ने समस्या रहेकोमा उद्योगले त्यस्ता फलको उपयोग गर्न थालेपछि किबी खेतीप्रति किसानको आकर्षण बढ्न थालेको उनले बताए ।

१५ करोडभन्दा बढी लगानी, २० जनासम्मलाई रोजगारी
उद्योगमा जग्गा, किबी खेती र औद्योगिक संरचनासहित हालसम्म १५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । निजी लगानीका अतिरिक्त सरकारी तथा विकास साझेदारबाट पनि उद्योगले सहयोग प्राप्त गरेको छ ।
उद्योगलाई कृषि मन्त्रालयबाट २५ लाख रुपैयाँ र विश्व बैंकको सहयोगमा सञ्चालित आर्थिक करिडोर कार्यालयबाट ७० लाख रुपैयाँ अनुदान प्राप्त भएको छ । उक्त सहयोगबाट करिब दुई करोड रुपैयाँ लागतका क्रसिङ तथा ज्याकेटेड मेसिन खरिद गरिएको उद्योगले जनाएको छ ।
उद्योगले नियमित रूपमा पाँच जनालाई रोजगारी दिएको छ । किबी उत्पादनको मौसममा भने १५ देखि २० जनासम्मले काम पाउने गरेका छन् ।
महालक्ष्मी नगरपालिका–२ का वडा सदस्य तथा किसान दिलबहादुर मगरले उद्योगले स्थानीय कृषि उपजको बजारीकरण र रोजगारी सिर्जनामा सहयोग पुर्याएको बताए । गाउँमै उत्पादन भएको किबी प्रशोधन गर्ने व्यवस्था भएपछि किसानलाई बजारको विकल्प थपिएको र स्थानीय आर्थिक गतिविधि बढाउन मद्दत पुगेको उनको भनाइ छ ।
खाडी मुलुकसम्म निर्यात गर्ने लक्ष्य
उद्योगले अहिले ‘तिनजुरे बगान’ ब्रान्डको किबी वाइन बजारमा ल्याउने अन्तिम तयारी गरिरहेको छ । गुणस्तर परीक्षण र उपभोक्ताको सुझावअनुसार आवश्यक सुधार पूरा भएपछि व्यावसायिक बिक्री सुरु गर्ने योजना छ ।
आगामी वर्षदेखि उत्पादन क्षमता विस्तार गर्दै केही वर्षभित्र खाडी मुलुकसम्म किबी वाइन निर्यात गर्ने लक्ष्य उद्योगले लिएको छ ।




