Monday, July 6

सांसदहरू मतदाताहरूको जनप्रतिनिधि मात्रै होइनन् : सभामुख घिमिरे

नेपालअखबार,काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् र सांसदहरू मतदाताहरूको जनप्रतिनिधि मात्र नभई अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि भएको बताएका छन् ।

Advertisement

स्विट्जरल्याण्डको जेनेभामा संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा धारणा राख्दै सभामुख घिमिरेले संसदीय प्रक्रियाका माध्यमबाट सरोकारवाला पक्षहरूको दृष्टिकोणहरूलाई समेत निर्णय प्रक्रियामा समेटेर अझ गतिशील विश्व निर्माणमा सहयोग पुर्याउन सम्भव रहेको बताए ।

Advertisement
Advertisement

अन्तर व्यवस्थापिका सङ्घ (आईपीयु) र संयुक्त राष्ट्रसङ्घ (युएन)को आयोजनामा भएको “शान्ति, न्याय र समृद्धिका लागि संसदीय सहकार्य तथा बहुपक्षीयता” विषयक सम्मेलनमा उनले सम्मेलनले अन्तर्राष्ट्रिय सहकार्यको भूमिकालाई यथार्थपरक ढङ्गले प्रतिबिम्बित गरेको बताए ।

Advertisement

अहिलेको विश्व समुदायलाई बढ्दो द्वन्द्व, व्यापार तनाव, आर्थिक तथा सामाजिक असमानता, जलवायु परिवर्तनले निम्त्याएको अस्तित्वको सङ्कट, महामारी र नयाँ प्रविधिहरूले जटिल परिस्थितसँग जुध्न बाध्य पारेको सन्दर्भमा यो सम्मेलनको सार्थकता थपिएको उनको भनाइ थियो ।

सभामुख घिमिरेले “सञ्जालीकृत विश्व शासनले” ले परम्परागत भन्दा पृथक् स्वरूपको कूटनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धबाट सबै सम्बन्धित पक्षहरू समावेश भएको समावेशी प्रणालीतर्फको रूपान्तरणको आह्वान गरेको बताए ।

उनले विश्व शासन निर्माणमा सरकार मात्र होइन, नागरिक समाज, निजी क्षेत्र, शैक्षिक संस्थाहरू र सामुदायिक सङ्गठनहरूलाई परिभाषित गर्नुपर्ने तथा खुलापन र सहभागितामूलक संवादलाई प्राथमिकता दिन जरुरी रहेको बताए ।

आजको संसार विभिन्न मूल्य, प्राथमिकता र स्वार्थहरूबाट निर्देशित भएको बताउँदै उनले यस्तो अवस्थामा साझा समझदारी बनाउनु निकै कठिन भएको बताए ।

सङ्गठित समूहहरूको अवाञ्छित प्रभावलाई बेवास्ता गर्दै बहुपक्षीय संस्थाहरूको वैधतालाई बलियो बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।