Saturday, April 18

खनालले भने कसैले राजीनामा दे भन्दैमा खुरुक्क राजीनामा दिएर नहिँड्ने

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कसैले माग्दैमा आफूले राजीनामा नदिने बताएका छन् ।

शनिबार काठमाडौंमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

Advertisement

हिजोमात्रै पार्टी अध्यक्ष माधव कुमार नेपालले एउटा अन्तर्वार्ताका क्रममा दिएको अभिव्यक्तिलाई लिएर पार्टीबाट बिदा हुन सुझाव दिएका थिए ।

तर, नेता खनालले भने कसैले राजीनामा दे भन्दैमा खुरुक्क राजीनामा दिएर नहिँड्ने बताए ।

‘यो पार्टीबाट भाग्ने, राजीनामा दिएर हिँड्ने त म कल्पना नै गर्दिनँ । मलाई कसैले राजीनामा दे भन्दैमा म खुरुक्क राजीनामा दिएर हिँड्दिनँ ।’

उनले अध्यक्ष नेपालसँग ०३२ सालदेखिको सहकार्य भएको भन्दै उनले माधव नेपालबाट सन्तुष्ट हुन नसकिएको पनि बताए ।

‘त्यो योद्धाको रुपमा, उहाँ मेरो नेता, उहाँले निर्देशन दिएर मैले काम गर्नुपर्ने भन्ने मैले कहिल्यै सोचिनँ । यहाँसम्म आइपुग्दा अध्ययन, व्यवहारका हिसाबले पनि परिपक्व हुनुहुन्छ होला भन्ने ठानेँ,’ खनालले भने, ‘पार्टीको अध्यक्ष तपाईं नै बन्नुस भनेँ । मलाई पदको कुरामा कतै पनि लोभ लाग्दैन । तर, अहिलेसम्म आउँदा सन्तुष्ट हुन सकिएन ।’

उनले पार्टीमा आफूहरूबीच झगडा नभएको पनि बताए ।

‘यो दुई जनाको झगडा होइन । यो वैज्ञानिक समाजवादको बाटो समात्ने कि लोकतान्त्रिक समाजवादको भन्ने हो,’ खनालले भने ।