
नेपालअखबार, काठमाडौँ । रसुवा बाढी पहिरोमा बीमा मागदाबी अर्ब नजिक पुगेको छ । गत असार २३ गते नेपाल चीन सिमानास्थित रसुवागढी क्षेत्रस्थित भोटेकोशी खोलामा आएको बाढी र पहिरोका कारण भएको क्षतिबापत बीमा कम्पनीहरूमा करिब १ अर्ब रुपैयाँ बराबरको दाबी परेको हो ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार साउन २२ गतेसम्ममा विभिन्न ११ वटा निर्जीवन बीमा कम्पनीमा ७८ वटा दाबीमार्फत कुल ९८ करोड ५९ लाख ८२ हजार १५६ रुपैयाँ माग गरिएको हो । विवरणअनुसार सबैभन्दा बढी दाबी रकम हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ । सो कम्पनीमा जम्मा २ वटा दाबीमार्फत एक्लैको ५५ करोड रुपैयाँको मागदाबी परेको छ ।
त्यसबाहेक शिखर इन्स्योरेन्सको १६ करोड ९६ लाख, नेपाल इन्स्योरेन्सको ८ करोड ४३ लाख सानिमा जीआईसीको ५ करोड ८४ लाख, नेको इन्स्योरेन्सको ५ करोड ६७ लाख र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २ करोड ६५ लाख रुपैयाँ रहेको छ । बाँकी कम्पनीमा भने करोड भन्दा कम नै मागदाबी रहेको छ ।
सम्पत्ति बीमामा सर्वाधिक दाबी
दाबीलाई बीमालेखको प्रकारअनुसार विश्लेषण गर्दा सबैभन्दा ठुलो क्षति सम्पत्तिमा भएको देखिन्छ। सम्पत्ति बीमा अन्तर्गत ६ वटा दाबीमा मात्रै ६१ करोड ४७ लाख रुपैयाँ बराबरको क्षति माग गरिएको छ।
त्यसपछि सामुद्रिक बीमा (सामान ढुवानी) अन्तर्गत ९ वटा दाबीमा २२ करोड ४ लाख रुपैयाँभन्दा बढीको दाबी परेको छ। यसले रसुवागढी नाका हुँदै हुने व्यापार तथा पारवहनमा समेत ठुलो असर परेको अनुमान गर्न सकिन्छ।
बाढी पहिरोले जिल्लाका विकास आयोजनाहरूमा पनि क्षति पुर्याएको छ। इन्जिनियरिङ्ग तथा ठेकेदार जोखिम बीमा अन्तर्गत ५ वटा दाबीमा ५ करोड ९५ लाखको दाबी परेको छ।
यस्तै, मोटर बीमातर्फ पनि ठुलो सङ्ख्यामा दाबी परेको छ। निजी र सार्वजनिक गरी कुल ५८ वटा सवारी साधनमा क्षति पुगेको भन्दै ९ करोड १३ लाख रुपैयाँभन्दा बढीको दाबी परेको प्राधिकरणको विवरणमा उल्लेख छ।

