Thursday, August 6

त्रिभुवन राजपथ अझै अवरुद्ध

नेपालअखबार,मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथ अझै अवरुद्ध छ । शुक्रबार दिउँसो परेको वर्षाका कारण गिटी बालुवा सहितको भल र पहिरोले अवरुद्ध सडक अझै खोल्न नसकेको हो। भीमफेदी गाउँपालिका–१ स्थित बागझोरामा गिटी बालुवा सहितको भल र सुपारे टार ब्यारेक नजिक खसेको पहिरोले अवरुद्ध भएको सडक अझै खुल्न नसकेको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागझोराको गिटी बल्वा सहितको भल नियन्त्रण भए पनि पहिरो भने हटाउन कठिन भएको छ । राति सुपारेटार ब्यारेक नजिकै खसेको पहिरो हटाउन शनिबार बिहानैबाट दुईवटा मेसिन परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक स्यामु अर्यालले जानकारी दिए ।

Advertisement
Advertisement

उनका अनुसार पहिरो निकै ठुलो रहेकाले हटाउन केही समय लाग्ने छ । उक्त सडक अवरुद्ध हुँदा हेटौँडा काठमाडौँ जोड्ने छोटादुरीका मार्गसमेत बन्द भएका छन्। सो सडक भएर हेटौडा आउने सवारीलाई भैंसे र भीमफेदीमा रोकिएको छ अनि हेटौडाबाट काठमाडौँ जाने सवारीलाई हेटौडा बजार क्षेत्रमा रोकिएको उनले बताए ।

Advertisement

उक्त स्थानमा पहिरो खस्दा हेटौँडा काठमाडौँ जोड्ने भीमफेदी कुलेखानी फाखेल काठमाडौँ र कुलेखानी सिस्नेरी काठमाडौँ सडक समेत अवरुद्ध भएको हो।यस्तै पहिरोका कारण हेटौँडा ललितपुर जोड्ने कान्ति लोकपथ समेत अवरुद्ध भएको छ। गएराति खसेको पहिरोका कारण अवरुद्ध सडक खुलाउन सकिएको छैन मकवानपुरको ठिङ्गन तथा जितपुर भन्ज्याङमा पहिरो खस्दा समेत अवरुद्ध भएको हो।