Saturday, July 25

पुम्दी–भुम्दी पर्वतीय दौडलाई नमस्ते हस्पिटलको साथ

नेपालअखबार,पोखरा । पुम्दी–भुम्दी पर्वतीय दौड नारालाई आत्मसात गर्दै विश्व पर्यटन दिवसको सन्दर्भमा आउँदो असोज ४ गते शनिवार आयोजना हुने दोस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगितालाई सफल पार्न पोखराको नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले साथ दिने भएको छ ।

Advertisement

पर्यटनको राजधानी पोखराको आर्थिक समृद्धिका लागि खेल पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना हुने उक्त कार्यक्रमलाई सफल पार्न नमस्ते हस्पिटलले हस्पिटल पाट्र्नरको रुपमा सहयोग गर्ने गरी आज सम्झौता भएको छ ।

Advertisement
Advertisement

हस्पिटलका मेट्रोन एलिना सिंह र प्रतियोगिता सं्रयोजक दीननाथ बराल बिच आज सम्झौता भएको हो । हस्पिटलले असोज ४ गते हुने प्रतियोगितालाई सफल पार्न हस्पिटल पाट्नरको रुपमा सहयोग गर्ने भएको हो ।

Advertisement

उक्त कार्यक्रमलाई सफल पार्न हस्पिटलको तर्फबाट सक्दो सहयोग गर्ने र असोज ४ गते प्रतियोगिता अवधिभर एम्बुलेन्स सहितको स्वास्थ्यकर्मी समेत आफुहरुले उपलब्ध गराउने भएको उहाँले जनाउनु भयो ।

पोखरामा करिब १४ बर्ष अघि स्थापना भएको नमस्ते हस्पिटल केही समय अघि देखि पोखराको मुस्ताङचोक पार्दीमार्गमा आफ्नै अध्याधुनिक सुविधा सम्पन्न भवनबाट सेवा दिदै आएको हस्पिटलका प्रबन्ध निर्देशक मदनकुमार रंजितकारले बताउनु भयो । बिषेशज्ञ चिकित्सक सहित ओपीडी,ओटी, वार्ड, आईडब्लु लगायतको सेवा सहित चौबिसै घण्टा इमर्जेन्सि तथा फार्मेसि सेवा उपलब्ध गराउदै आएको प्रा.लि.ले जनाएको छ ।

पोखरा क्लिक प्रा.लि. र पोखरा प्रबद्र्धन केन्द्रको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको केन्द्रका उपाध्यक्ष असफल गौतमले बताउनु भयो ।

विश्वशान्ति स्तुपबाट सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै न्यालडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा समापन हुने आठ कि.मी. पर्वतीय दौडमा खुला, वडास्तरीय, महिला, यू–१६ र पर्यटन तथा ४० बर्ष माथिका भेट्टान तर्फको प्रोत्साहन गरी ६ वटा इभेन्ट समावेश गरिएको उहाँले जनाउनु भयो । प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार नगद प्राप्त गर्ने छन् । दोस्रो, तेस्रो, चौथो र पाँचौँलाई क्रमशः ३० हजार, १५ हजार, सातहजार, तीनहजार र छैटौँदेखि १० औं स्थानसम्म दुरी पूरा गर्ने धावकलाई जनही एकहजार नगद मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिने भएको छ ।

यसैगरी, वडास्तरीय, खुल्ला महिला र यू–१६ तर्फका विजेता जनही १५ हजार र उपविजेता जनही सातहजार रुपैयाँसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरिएको छ । भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागि हुने खेलाडीहरुले अनलाइन फराम भर्नु पर्ने छ, अनलाइन फारम हाल भर्ने क्रम जारी रहेको छ । यही भदौं २५ गतेसम्म मात्र धावकहरुले अनलाइन फारम मार्फत आफ्नो नाम दर्ता गराउन सक्ने प्रतियोगिातका निर्देशक ओम लामाले बताउनु भयो । पोखरा क्लिक डटकममा अनलाइन फारम भर्न सकिन्छ ।