Tuesday, May 5

इमानदार नेता र अनुशासित नागरिकको पहलबाट देश विकास हुन्छ: मन्त्री गुरुङ

नेपालअखबार,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले इमानदार नेता र अनुशासित नागरिकको पहलबाट नै देश विकास सम्भव हुने विश्वास व्यक्त गरेका छन्।

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को २९औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले विकासका लागि सुशासन र समृद्धिका पक्षमा इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिए।

Advertisement

पछिल्लो समय विदेशमा विद्यार्थी अध्ययन गर्न जाने सङ्ख्या वृद्धि भएको उल्लेख गर्दै उनले विदेशिएका युवालाई स्वदेशमै फर्काउनका लागि इक्यानले पहल गर्नुपर्ने बताए।

‘उच्च शिक्षाका लागि विदेश जानु सकारात्मक हो तर, इक्यानकै पहलमा ती युवालाई स्वदेशमै भविष्य देखाउनुपर्नेछ,’ उनले भने, ‘इक्यानले विदेशमा गएका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गरी स्वदेशमै नवीन कार्य गर्न प्रोत्साहित गर्नुपर्छ।’

नेपाल विकासका प्रशस्त सम्भावना भएको उल्लेख गर्दै मन्त्री गुरुङले  देशलाई शैक्षिक हब बनाउने आधार तयार गर्न पनि इक्यानलाई सुझाव दिए।

यसका लागि शिक्षा नीति, ऐन र कानुनको समयसापेक्ष परिमार्जन आवश्यक रहेको उनले बताए।

कार्यक्रममा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले स्वदेशमा युवाको उत्साहलाई टिकाउनु अहिलेको मुख्य जिम्मेवारी भएको बताए।

कार्यक्रममा इक्यानका अध्यक्ष शेषराज  भट्टराईले विश्वमा नेपाली विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्ने हुनु, नवीन कार्यमा प्रतिष्ठित हुँदै जानु इक्यानको सफलता रहेको बताए। यसलाई सरकारले सकारात्मक रूपमा धारणा बनाउन पनि उनले आग्रह गरे।

यद्यपि इक्यानले विश्वमा गुणस्तर शिक्षा प्राप्त गरेका विद्यार्थीलाई फर्केर स्वदेशमै सेवा गर्ने भावनाको विकास गराउने इक्यानको भावी उद्देश्य रहेको पनि उनले बताए।