Monday, July 27

एमालेबाट विद्रोह नगरेको भए अहिले आफ्नो कन्तबिजोग हुने : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह नगरेको भए अहिले आफ्नो कन्तबिजोग हुने बताएका छन्। समाजवादी प्रेस संगठनको बैठकलाई सम्बोधन गर्दै उनले एमालेबाट विद्रोह नगरेको भए अहिले कन्तबिजोग हुने कुराको व्याख्या गर्नु नपर्ने धारणा राखे । उनले एमालेबाट विद्रोह गर्ने बेलामा सबैले साथ नदिएपनि पार्टी निर्माण गरेको बताए। एमाले फुटाएर आफूहरूले जायज काम गरेको नेपालको भनाई छ। उनले भने,‘हामीले आँट नगरेको भए, त्यो बेलामा विद्रोहको आँट नगरेको भए हाम्रो कन्तबिजोक हुँदैनथ्यो, विद्रोहको औचित्य के छ भन्नेहरूको दुई कौडीको पनि महत्त्व छैन, कुनै अर्थ छैन।’

Advertisement

उनले सबै मिलेर मेहनत गरे पार्टी पहिलो शक्तिको रुपमा स्थापित हुने दाबी गरे। ‘०८४ को चुनाव आउँदै छ, हामी अहिलेदेखि नै तयारीमा जुट्नुपर्छ। साथीहरूले मेहनत गरेर वडा, स्थानीय तह, प्रदेशमा अरू पार्टीलाई एक्लै पराजित गरेका पनि छन्।’ उनले भने, ‘कर्णाली प्रदेशमा बडो शान बनिरहेको छ। हामीले विश्वास गरेको शक्तिलाई साथमा लिन सक्यौं भने सुदूरपश्चिममा पनि त्यस्तै छ, हामीसँग पहिलो नम्बरको शक्ति छ, हामीसँग मन र भावना मिलेकाहरूसँग सँगै जान्छन् भने पहिलो शक्तिको रूपमा हाम्रो पार्टीलाई स्थापित गर्न सक्छौँ। मधेश प्रदेशले पनि त्यही भन्दैछ। पहिले जस्तो होइन।’

Advertisement
Advertisement

नेपालले आफू कुनै पार्टीसँग विलीन नहुने प्रष्ट पारे। ‘हामीसँग सबैसँग संवाद गरिरहेका छौं। जोसँग विचार, सिद्धान्त र नीति मिल्छ, त्यसपछि मात्रै पार्टी मिल्छ, जोसँग मन मिल्छ, दिल मिल्छ, विश्वास हुन्छ व्यवस्थापन पनि मिलेपछि पार्टी पनि मिल्छ। समाजवादी मोर्चालाई विस्तार गरेपछि कम्युनिष्ट पार्टीहरु/वामपन्थी एकतालाई अगाडि बढाउने काम गर्छौं।’

Advertisement

अध्यक्ष नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूमाथि बिना कारण मुद्दा लगाइएको आरोप लगाए। पूर्वप्रधानमन्त्री नेपालले हदबन्दी भन्दा बढी जग्गा दिने काम गरेर र दिएको भन्दा बढी जग्गा विक्री गर्न दिने काम गरेर बेठिक गरेको भन्दै मुद्दा लगाइएको बताए।

‘अहिले ममाथि एउटा मुद्दा चलाइएको छ, मुद्दा के छ त्यहाँ मुद्दामा ४ वटा कुरा छ। हदबन्दी भन्दा बढी जग्गा दिने काम गरेर र दिएको भन्दा बढी जग्गा बिक्री गर्न दिने काम गरेर बेठीक भयो भन्नेछ।’ नेपालले भने ‘सरकारी र सार्वजनिक सम्पत्ति हिनामिना र हानी नोक्सानी गर्ने काम भयो, यसरी हिनामिना र हानी नोक्सानी गरेर भ्रष्टाचारको काम भयो। हदबन्दी भन्दा बढी जग्गा बिक्री गर्न दिन पाइन्छ की पाइँदैन, कानूनले के भन्छ ? हदबन्दी छुटलाई नियमन गर्ने सम्बन्धी विशेष व्यवस्था रहेको छ। कसैले स्वीकृति नलिइकन किनेको रहेछ भने पनि नियमन गर्न सकिन्छ। नेपाल सरकारले सूचित आदेश बमोजिम हदबन्दीको जग्गा राख्न दिन स्वीकृति दिन सक्नेछ।’