Saturday, May 2

विभिन्न मन्त्रालयमा अधिकृतस्तरका १७६ दरबन्दी स्वीकृत

नेपालअखबार,काठमाडौँ । सरकारले विभिन्न मन्त्रालयमा अधिकृतस्तरका १७६ दरबन्दी स्वीकृत गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भदौ १३ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालयमा अधिकृतस्तरका दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई आर्थिक वर्ष २०८२/०८३ का लागि अधिकृतस्तरका ५८ दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ

Advertisement

यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सञ्चालन हुने आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्न आर्थिक वर्ष २०८२÷०८३ का लागि अधिकृतस्तरका ८७ पदको दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

मन्त्रिपरिषद बैठकले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ कालागि राष्ट्रिय युवा परिषद्, फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति र राष्ट्रिय एन्टीडोपिङ एजेन्सीमा अधिकृतस्तरका २१ दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पुरातत्व विभागमार्फत सञ्चालित भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमलाई आर्थिक वर्ष २०८२/०८३ का लागि अधिकृतस्तरका १० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार जानकारी दिए ।