Saturday, May 9

गुगललाई युरोपेली सङ्घद्वारा झन्डै ३ अर्ब युरो जरिवाना

नेपालअखबार,जुरिच । युरोपेली सङ्घ (ईयू) ले गुगललाई विज्ञापन प्रविधि (एड टेक) क्षेत्रमा वर्चस्व दुरुपयोग गरेको आरोपमा २.९५ अर्ब युरो जरिवाना गरेको छ।

युरोपेली आयोगले शुक्रबार गरेको निर्णयअनुसार गुगलले आफ्नै विज्ञापन प्रविधिलाई प्राथमिकता दिँदै प्रतिद्वन्द्वी कम्पनीहरूको पहुँचलाई कमजोर बनाएको र यसले प्रतिस्पर्धा कानुन उल्लङ्घन गरेको ठहर गरेको हो।

Advertisement

गुगलले भने आयोगको निर्णयलाई ‘गलत’ भन्दै अपिल गर्ने जनाएको छ। कम्पनीकी नियामक मामिला प्रमुख ली–एन मुलहोल्याण्डले भनिन्, ‘यो जरिवाना अन्यायपूर्ण छ। यसले हजारौँ युरोपेली व्यवसायलाई प्रभावित पार्छ, जसले उनीहरूको आम्दानी घटाउँछ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत युरोपेली संघको निर्णयलाई ‘धेरै अन्यायपूर्ण’ भन्दै सामाजिक सञ्जालमा कडा प्रतिक्रिया दिएका छन्। उनले यसविरुद्ध अमेरिकी प्रशासनले अनुसन्धान सुरु गर्न सक्ने र युरोपेली सामानमा नयाँ शुल्क लगाउन सक्ने चेतावनी दिएका छन्।

युरोपेली आयोगले गुगलमाथि ‘स्व–प्राथमिकता’ को आरोप लगाएको छ। आयोगका अनुसार गुगलले आफ्नो विज्ञापन एक्सचेन्ज (एडीएक्स) लाई प्रतिस्पर्धी कम्पनीहरूको सेवाभन्दा अगाडि राख्दै विज्ञापनदातालाई महँगो र प्रकाशकलाई कम आम्दानी हुने अवस्थासम्म पुर्‍याएको थियो।

यो जरिवाना युरोपेली सङ्घले अहिलेसम्म लगाएका ठुला सजायमध्ये एक हो। सन् २०१८ मा पनि गुगललाई एन्ड्रोइड अपरेटिङ सिस्टममार्फत बजार नियन्त्रण गरेको आरोपमा ४.३४ अर्ब युरो जरिवाना गरिएको थियो।

आयोगकी उपाध्यक्ष तेरेसा रिबेराले यो तेस्रो पटक गुगलले प्रतिस्पर्धा नियम उल्लङ्घन गरेको भन्दै जरिवाना बढाइएको बताइन्। उनले थपिन्, ‘गुगलले ६० दिनभित्र सुधार योजनाबारे जानकारी दिनुपर्छ, नत्र आयोगले आफ्नै समाधान लागू गर्नेछ।’

उनका अनुसार, वर्तमान अवस्थालाई अन्त्य गर्न ‘संरचनात्मक समाधान’ आवश्यक देखिएको छ, जसअन्तर्गत गुगललाई आफ्नै विज्ञापन प्रविधि व्यवसायको केही हिस्सा बेच्नुपर्ने अवस्थासमेत आउन सक्नेछ।