Saturday, November 15

भागेका ६२ कैदीबन्दी र बालबन्दी सेनाको नियन्त्रणमा, ९७ नाल हतियार बरामद

नेपालअखबार,काठमाडौं । कारागारबाट भागेका थप ४३ जना कैदीबन्दी र १९ बालबन्दीलाई नियन्त्रणमा लिएको नेपाली सेनाले जनाएको छ ।

Advertisement

 नेपाली सेनाले दिएको पछिल्लो सुरक्षा अपडेट अनुसार धादिङको गजुरीस्थित धादिङ कारागारबाट भागेका ३९ र काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका ४ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको हो ।

Advertisement

यस्तै बाँकेको डडुवास्थित जयन्दु बालसुधार गृहबाट फरार भएका १६ र डोटीको दिपायल सिलगढीस्थित बालसुधार गृहबाट भागेका ३ जना बालबन्दीलाई सेनाले नियन्त्रणमा लिएको छ ।

बाँकेको नेपालगञ्जमा रहेको जिल्ला कारागारबाट भाग्न खोजेका कैदीबन्दीलाई रोक्न सफल भएको नेपाली सेनाले जनाएको छ । त्यसक्रममा सेनासँग भएको झडपमा एक कैदीबन्दी घाइते भएका छन् ।

नेपाली सेनाका अनुसार हालसम्म सुरक्षाकर्मीबाट खोसिएका ९७ नाल हतियार बरामद भएको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-९ स्थित नयाँ बस्तीमा फेला परेको ८ वटा सकेट बम डिस्पोज गरिएको सेनाले जानकारी दिएको छ ।

जेनजी आन्दोलनका कारण उठेको ललितपुरस्थित भैंसेपाटी इलाकाको स्थानीय प्रहरी चौकी पुनर्स्थापित गरिएको छ । त्यहाँ स्थानीयबासिन्दाले नै सरसफाइ गरी चौकीमा कार्यरत प्रहरीलाई स्वागत गरेका सेनाले सुरक्षा अपडेटमार्फत जानकारी दिएको छ ।