Thursday, July 9

असोज १७ देखि २० सम्म बाली नकाट्न र काटेको भए भित्र्याइहाल्न कृषिविद्को सुझाव

नेपालअखबार,काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ।

Advertisement

जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातारवण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन जारी गर्दै भारी/अति भारी वर्षाको समयमा कृषिकर्म गर्दा ध्यान दिन अनुरोध गरिएको छ।

Advertisement
Advertisement

कृषि मौसमविद् रामेश्वर रिमालले यस समयमा किसानले विशेष ध्यान दिनसके बालिनाली जोगाउन सकिने र त्यसका लागि हालै जारी बुलेटिनलाई ध्यान दिन अनुरोध गरे।

Advertisement

उनका अनुसार जारी बुलेटिनमा मनसुन सक्रिय रहने समयमा तरकारीबाली, फलफूल बगैंचा तथा पाँक्न लागेका धानखेतमा पानी निकासको उचित व्यवस्था गर्न, विषादी छर्कने कार्य रोक्न, नदी, खोलाछेउका संरचनाहरू बाढीको जोखिममा पर्नसक्ने हुनाले सम्भव भएसम्म भण्डारणमा रहेका तथा अन्य सामग्री सुरक्षित स्थानमा व्यवस्थापन गर्न भनिएको छ।

यस्तै, जल तथा मौसम विज्ञान विभागबाट जारी हुने तीनदिने मौसम पूर्वानुमान बुलेटिन अध्ययन गरी सोहीअनुसार व्यवस्थापन गर्न, आगामी असोज १७–१९ सम्म मनसुन सक्रिय रहने देखिएकाले धानबालीमा हुने सम्भावित क्षति न्यूनीकरणका लागि पानीको निवास, धान नकाट्न, काटेको भए भित्र्याइहाल्न, अग्लो ठाउँमा भण्डारण गर्न, विभिन्न तरकारीबालीको नर्सरीमा पानी जमेर बेर्ना कुहिन सक्ने भएकाले पानी निकासको प्रबन्ध गर्न पनि अनुरोध गरिएको छ ।

बर्सातको समयमा मौरीलाई चरन क्षेत्रको कमी हुने भएकाले चिनी चास्नी बनाएर खुवाउन, पशुबस्तुलाई पानीमा भिज्ने गरी नराख्न, दानालाई सफा र ओभानो ठाउँमा भण्डारण गर्न, भिजेका र बाढी पसेका स्थानका घाँस, पराल, दाना वा अन्न नखुवाउन पनि अनुरोध गरिएको छ ।

यस्तो अवस्थामा पशुबस्तुलाई पाचन प्रणाली र पाँचन प्रणालीजन्य रोगका लक्षण देखिन सक्ने हुँदा त्यसबारे चनाखो भई अनुगमन गर्न पनि भनिएको छ। ‘चिसो ठाउँमा भण्डारण गरेको दानामा ढुसीको सङ्क्रमण हुनसक्छ, जसले गर्दा पशुबस्तुको पाउनु साथै विष उत्पन्न भई पशु चौपाया मर्न सक्दछ। तसर्थ कुहिएको दाना वा परालमा ढुसीका प्रजाति हुनसक्छन्, जसले दीर्घकालीन रूपमा पशु र मानिसलाई क्यान्सर गराउन सक्दछ,’ बुलेटिनमा भनिएको छ।

खोर चिसो र हिलो भएको अवस्थामा कुखुरामा जुम्रा, सुलसुलेजस्ता बाह्य परजीवीको समस्या देखिने हुँदा दैनिक रूपमा खोरको अनुगमन गर्न, परजीवी देखिएमा दक्ष प्राविधिकको सल्लाह लिन, माछा पोखरीमा धमिलो पानी मिसिन नदिन माछापोखरीको निकासद्वारमा माछाको ‘साइज’अनुसारको जाली राखी निकासको उचित व्यवस्था गर्न पनि अनुरोध गरिएको छ।

मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले आज पनि देशभर बदली रहेको र शुक्रबारदेखि भने न्यून चापीय प्रणालीका कारण देशका धेरै ठाउँमा भारीदेखि अतिभारीसम्म वर्षा हुने जानकारी गराइसकेकाले सोहीअनुसार सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।