Tuesday, October 28

सामुदायिक वनद्वारा आठ करोड रुपैयाँभन्दा बढीको वन पैदावर बिक्री

नेपालअखबार,तनहुँ । तनहुँका सामुदायिक वन समूहले आर्थिक वर्ष २०८१/८२ मा वन पैदावर बिक्री गरी रु आठ करोड ४३ लाख चार हजार पाँच सय तीन आम्दानी गरेका छन् ।

Advertisement

सामुदायिक वनले सो अवधिमा ८३ हजार पाँच सय १३ दशमलब ४५ क्युफिट वन पैदावर बिक्री गर्न सफल भएको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी एवं वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बिक्री भएका वन पैदावरमध्ये ४० हजार तीन सय ३१ दशमलब ९५ क्युफिट साल, ४१ हजार एक सय तीन दशमलब ८० क्युफिट खयर र दुई हजार नौ सय ११ दशमलब ८६ अन्य वन पैदावर छन् । त्यस्तै सोही अवधिमा ५० दशमलब १५ चट्टा दाउरा पनि बिक्री भएको छ ।

Advertisement

वन पैदावर बिक्रीमार्फत् रु एक करोड २० लाख चार हजार नौ सय ८६ राजस्व सङ्कलन भएको छ । निजी आवादीतर्फ पनि ५१ हजार चार सय ५४ दशमलब ७५ क्युफिट वन पैदावर बिक्री भएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार निजी आवादीतर्फ ४३ हजार तीन सय २४ दशमलब ८ क्युफिट खयर, नौ हजार एक सय ३० दशमलब ६७ क्युफिट अन्य, ८६ दशमलब १५ चट्टा दाउरा बिक्री भएको छ ।

जिल्लाको कूल क्षेत्रफलमध्ये करिब ७२ हजार ८० हेक्टर वनले ओगटेको छ । जिल्लाभर ६ सय १६ वटा सामुदायिक वन र चार सय ८५ वटा कबुलियती वन रहेको कार्यालयले जनाएको छ ।