Thursday, July 9

नेपाल-बंगलादेश व्यापार असन्तुलन घटाउन सीधा सडक-रेल सम्पर्क आवश्यक : अग्रवाल

नेपालअखबार,काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र बंगलादेशबिचको ठुलो व्यापार असन्तुलन घटाउन आपसी सहकार्य र सहज व्यापारिक वातावरण अपरिहार्य रहेको बताएका छन्। बिहीबार चेम्बर भवनमा नेपालका लागि बंगलादेशका राजदूत महोम्मद साफिक रहमानसँगको भेटवार्ताका क्रममा अग्रवालले यो विषयमा जोड दिएका हुन्।

Advertisement

उनका अनुसार नेपालले बंगलादेशबाट वार्षिक करिब ३०.८८ मिलियन अमेरिकी डलर बराबरको सामान आयात गर्छ, तर निर्यात भने जम्मा ३.३३ मिलियन अमेरिकी डलरको मात्र गर्छ, जसले ठुलो व्यापार घाटा देखाउँछ।

Advertisement
Advertisement

अध्यक्ष अग्रवालले सीधा व्यापारिक मार्गको अभाव र भारतीय मार्गमाथिको अत्यधिक निर्भरताले ढुवानी लागत बढाउनुका साथै व्यापारमा ढिलाइ र जटिलता ल्याएको बताए। उनले नेपाल र बंगलादेशबिच सीधा सडक र रेल सम्पर्क विस्तार गर्न दुवै देशले प्राथमिकता दिनुपर्नेमा जोड दिए।

Advertisement

नेपालका उत्पादनहरू जस्तै दाल, मसला, फलफूल र दुग्धजन्य वस्तुहरूले बंगलादेशमा राम्रो बजार पाउन सक्ने भए पनि ती अवसरहरू पूर्ण रूपमा प्रयोग हुन नसकेको उनले बताए। अग्रवालले बीबीआईएन (बंगलादेश, भुटान, भारत र नेपाल) क्षेत्रीय सहकार्य प्रणालीलाई व्यापार, ऊर्जा र यातायातमा सहकार्य बढाउने प्रभावकारी माध्यमका रूपमा उपयोग गर्न सकिने सुझाव पनि दिए।

जवाफमा राजदूत रहमानले नेपालको निर्यात प्रवर्द्धन गरी व्यापार घाटा कम गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए। उनले दुई देशबिच पर्यटन, संस्कृति र शैक्षिक सम्बन्ध उच्चस्तरीय रहेको उल्लेख गरे।