Sunday, April 19

बजारमा उपभोक्तासँगै फलफूल पनि अभाव, बिचौलिया हाबी

नेपालअखबार, काठमाडौँ । नेपालको फलफूल बजार यतिखेर सुनसान प्रायः बनेको छ । उपभोक्ता र फलफूल दुवैको अभावका कारण व्यापारमा ठुलो गिरावट आएको व्यवसायीहरूले बताएका छन् ।

सुन्तलाको सिजन भए पनि बजारमा यसको उपलब्धता कम रहेको, स्याउ, केरा र बदामको कारोबार पनि घटेको उनीहरूको भनाइ छ । नेपालमा उत्पादन कम हुनु र आयातमा आएको अवरोधका कारण सबै फलफूलको मूल्यमा वृद्धि भएको छ ।

Advertisement

फलफूल व्यवसायी कमल पन्थका अनुसार यस वर्ष सुन्तलाको उत्पादन गत वर्षको तुलनामा कम भएको छ । उनले किसानले उचित मूल्य नपाउने र उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने अवस्था रहेको बताए । मल, औषधि र मजदुरीमा ठूलो खर्च गरे पनि किसानहरूले बिचौलियाका कारण उचित मूल्य पाउन नसकेको उनको गुनासो छ ।

बजारमा बिचौलियाको प्रभाव हाबी हुँदा किसान र थोक व्यवसायीबिच प्रत्यक्ष कारोबार हुन नसकेको र यसले दुवै पक्षलाई घाटा पुगेको पन्थले बताए। बिचौलियाहरूले फल फूल खेल्न नपाउँदै किसानसँग सम्झौता गरी अग्रिम भुक्तानी दिने गरेकाले व्यवसायीहरूले सिधै किसानबाट फलफूल किन्न नसकेको उनको भनाइ छ। उनले सरकारले बिचौलियालाई हटाएर किसान र व्यवसायीबिच सिधा सम्पर्क हुने वातावरण बनाउनुपर्नेमा जोड दिए।

नेपाल फलफूल थोक व्यवसायी संघका कोषाध्यक्ष पुरुषोत्तम घिमिरेका अनुसार जेनजी आन्दोलनपछि व्यापार घटेको छ । भारत र चीनबाट हुने आयात ठप्प हुँदा पनि व्यापारमा नकारात्मक प्रभाव परेको उनले बताए । घिमिरेका अनुसार तातोपानी नाका हुँदै नेपाल आउने कन्टेनरहरू रोकिएका छन् भने केरुङ नाकाको पुल बन्द भएको कारण सुचारु रूपमा आयात हुन सकेको छैन ।

कोलकाताबाट आउने सामानहरू पनि आइरहेका छैनन्, जसले गर्दा अघोषित नाकाबन्दीको जस्तो अवस्था सिर्जना भएको उनको भनाइ छ। उनले बजारमा स्याउ र केरा जस्ता प्रमुख फलहरूको आपूर्ति नहुँदा अभाव सिर्जना भएको बताए । हाल केरा आयात बन्द हुँदा बजारमा केराको अभाव देखिएको छ। नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने भए पनि आगामी केही वर्षसम्म स्थानीय उत्पादनले मात्र माग धान्न नसक्ने उनको भनाइ छ । सरकारले सरोकारवालासँग छलफल गरेर मात्र फलफूलजन्य आयात रोक्ने वा नरोक्ने निर्णय गर्नुपर्नेमा उनले जोड दिए ।

व्यवसायी सुमन ढुंगानाले चिसो मौसम र ठुलो संख्यामा जनशक्ति बिदेसिएकाले फलफूलको खपत घटेको बताए । उनका अनुसार किसानले समयअगावै सुन्तला टिप्न थालेपछि सिजनमै अभाव भएको छ। तिहारपछि आउने सुन्तला दसैँमै टिपिँदा बजारमा कमी आएको र मूल्य पनि वृद्धि भएको उनले बताए ।

फलफूलको मात्र नभई बदामको व्यापारमा पनि गिरावट आएको छ । व्यवसायी हरिनारायण साहले गत वर्षको तुलनामा बदामको व्यापार ६० प्रतिशतले घटेको बताए । नेपालमा मान्छेको कमी र बाँदरको कारणले उत्पादन घटेको उनको भनाइ छ । उनले सरकारले रोजगारी सिर्जना गरी मान्छेलाई नेपालमै बस्ने वातावरण बनाउनुपर्ने र आवश्यक खाद्यवस्तुको आयात सहज बनाउन आग्रह गरे ।

उपभोक्ता वीरेन्द्र घिमिरेले फलफूल महँगो भएको गुनासो गर्दै किसानले कम मूल्य पाउने तर उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने अवस्था बिचौलियाका कारण सिर्जना भएको बताए । किसान र व्यापारी प्रत्यक्ष जोडिन सक्ने सरकारी संयन्त्रको अभावमा उपभोक्ता र किसान दुवै मारमा परेको उनको भनाइ छ ।

व्यवसायी मनु गुप्ताले चिसो बढेसँगै फलफूलको व्यापार घटेको र भारत–चीनबाट आयात कम भएपछि बजारमा फलफूलको व्यापक कमी देखिएको बताए।