
नेपालअखबार,काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ का घटनाको छानबिन गर्न गठन भएको जाँचबुझ आयोगमा बयान नदिने बताएका छन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओलीले बयान दिन जानुपर्ने बताएको अर्को दिन उनले सरकार नै असंवैधानिक भएको भन्दै त्यसका क्रियाकलाप अस्वीकार गर्ने बताए । ‘उपाध्यक्षज्यूलाईकिन सञ्चो भएन मलाई थाहा भएन । बयान दिन जाने, नजाने मेरो कुरा हो । कानुनी कुरा मलाई पनि थाहा छ । त्यसवापत सजाय भोग्ने कुरा मलाई थाहा छ,’ उनले भने, ‘प्रधानमन्त्री कार्कीको मनसाय र वरिष्ठ उपाध्यक्ष जीलगायत मित्रहरुको चाहना एउटै छ ।’
आफूलाई जति दबायो उति उफ्रिने भन्दै अध्यक्ष ओलीले फागुन २१ पछि आउने समयलाई ख्याल गर्न सरकारलाई चेतावनी दिए । ‘मलाई जनताले माया गरेका छन् । बिरोधीले लखेटेका छन् । म हावा भरेको भकुण्डाे जस्तो हो । जति पछार्यो त्यति माथि जान्छु,’ उनले भने,‘त्यसो नगरेको भए हुन्थ्यो । राजनीति गरेको भए हुन्थ्यो,’ उनले भने, ‘उहाँ(कार्की)को असंवैधानिक सरकार हो । अन्तरिम सरकार होइन । राष्ट्रपतिले दिएको म्यान्डेट निर्वाचन गर्ने भन्ने छ’ उनले भने, ‘सरकारलाई कोसँग रिस उठेको छ । फागुन २१ पछि २२ पनि आउँछ । समय गतिशील छ । ध्यान राखेर होस सम्हालेर चल्न सचेत गराउँछु । उहाँका क्रियाकलाप सम्पूर्ण रुपमा गैरकानुनी, प्रतिशोधपूर्ण छ ।’

