Sunday, April 19

सरकारले बनायो उच्चस्तरीय राजनीतिक संवाद समिति

नेपालअखबार,काठमाडौँ । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् । निर्वाचनका साथै राजनीतिक वातावरण बनाएर सहज रूपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संवाद गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

Advertisement

मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाश कुमार श्रेष्ठ, सदस्यमा प्राडा सुनीति श्रेष्ठ हाडालाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले प्रचलित कानूनमा व्यवस्था भए बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टास्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिए ।बैठकले सन २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारतीय रुपैयाँ २ सय र ५ सय नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति २५ हजार रुपैयाँ सीमासम्म भारतबाट नेपाल ल्याउन र नेपालबाट भारत लैजानसक्ने व्यवस्था गरिएको प्रवक्ता खरेलले बताए ।