Thursday, July 9

स्वास्थ्य मन्त्रालयले भन्यो– अत्यधिक चिसोमा घरबाहिर ननिस्कनू

नेपालअखबार,काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यधिक चिसोमा अनावश्यक रूपमा घरबाहि ननिस्कन अनुरोध गरेको छ।

Advertisement

मन्त्रालयले विज्ञप्ति जारी गर्दै चिसोका कारण स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले अनावश्यक रूपमा घरबाहिर ननिस्कन आग्रह गरेको हो।

Advertisement
Advertisement

मन्त्रालयका अनुसार जाडोयाम सुरु भएसँगै तापक्रम कम हुँदा शीतलहर, हुस्सु, कुहिरो र हिमपातजस्ता कारणले रुघाखोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने, शीताङ्क (हाइपोथर्मिया) का लक्षण देखिनेजस्ता समस्या बढ्ने गरेका छन्।

Advertisement

पछिल्ला वर्षहरूमा जाडोयामसँगै बढ्दो वायु प्रदूषणले मुटु, फोक्सो र मस्तिष्कलगायत अंगमा गम्भीर असर पार्दै दम, क्यान्सरजस्ता दीर्घ रोगको जोखिम र मृत्युदरसमेत बढाएको मन्त्रालयले जनाएको छ।

‘जाडोयाममा विशेषतः बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई जोखिम बढी हुने हुनाले जोखिमका कारण उत्पन्न हुनसक्ने लक्षण वा रोगलाई न्यूनीकरण गर्न तथा जाडोयाममा न्यानो रहन, धुवाँ–धुलोबाट बच्न, पोषणयुक्त सन्तुलित खाना खान, न्यानो लुगा लगाउने, भिटामिन–सी पर्याप्त मात्रामा भएका फलफूल (सुन्तला, कागती, अमला), मौसमअनुसारका ताजा फलफूल तथा सागसब्जी पर्याप्त मात्रामा खाने, सरसफाइमा ध्यान दिने, प्रशस्त मात्रामा झोल पदार्थ खाने र अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन मन्त्रालय अनुरोध गर्दछ,’ विज्ञप्तीमा भनिएको छ।

चिसोका कारण देखिने समस्याहरू रहिरहे वा बढेमा जिल्ला नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा हेलो स्वास्थ्य कल सेन्टर १११५ बाट परामर्श लिन पनि मन्त्रालयले सबैलाई अनुरोध गरेको छ।

मन्त्रालयले जाडोयाममा आगो ताप्दा, हिटर वा गिजर प्रयोग गर्दा पनि विशेष सावधानी अपनाउन चेतावनी दिएको छ।

‘राम्रो हावापास नहुने कोठामा यस्ता उपकरण प्रयोग गर्दा निस्कने रंग र स्वादरहित विषाक्त कार्बन मोनोअक्साइड ग्यास जम्मा भई गम्भीर स्वास्थ्य समस्या वा ज्यानसमेत जोखिममा पर्न सक्ने भएकाले आगो तथा ताप्ने उपकरण खुला र सुरक्षित स्थानमा मात्र प्रयोग गर्न, सुत्ने बेलामा निभाउन, ज्वलनशील सामग्री टाढा राख्न र गिजर बाथरुम बाहिर जडान गर्न मन्त्रालय आग्रह गर्दछ,’ विज्ञप्तीमा भनिएको छ।

यस्ता उपकरण प्रयोग गर्दा टाउको दुख्ने, चक्कर लाग्ने जस्ता लक्षण देखिएमा तुरुन्तै हावा आवत–जावत गराउन वा खुला ठाउँमा जान र समस्या रहिरहे वा बढिरहेमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गर्न पनि अनुरोध गरेको छ।